इटहरीः इटहरीको एपेक्स हस्पिटलले उपचारमा लापरवाही गर्दा आफ्नो छोराको ज्यान गएको भन्दै हस्पिटल विरुद्ध आन्दोलन गर्दा घाइते भएकी इटहरी २ बरगाछीका बालक सन्देश साहकी आमा ओछ्यान परेको आज झण्डै डेढ महिना भयो ।

बिवाह भएको ५ बर्ष पछि निकै लामो पहलमा भएको एउटै सन्तानको मृत्यु भएपछि भावविह्ल बनेकी सन्देशकी आमाको खुट्टामा आन्दोलनका क्रममा निकै ठुलो चोट लागेको छ । त्यही चोटका कारण उनि हालसम्म घरको ओछ्यानमै हुन्छिन, दाँया खुट्टानै घाइते भएपछि उनी न त हिड्न सक्छिन्, न त उभिन र उठ्न नै । एक त आफ्नो सन्तान गुमाउँदाको पीडा छ, अर्को तर्फ अब अर्को सन्तान हुने हो कि होइन् भन्ने संसयले घरलाई नै सताएको छ ।

‘विवाह भएको लामो समयसम्म सन्तान नहुँदा अथाह प्रयास र उपचार पछि भएको बच्चा खासै सिरियस बिरामी नै थिएन दवाई लिएर घर ल्याउँछु’ भनेर हस्पिटल लगेका सन्देशका बुवाले उनलाई इटहरीको एपेक्स हस्पिटलमै भर्ना गरेर राखेका थिए । सन्देशकी हजुरआमा सागर साहले प्रदेश पोर्टलसँग गुनासो गरिन् ।

278614090_559031838859145_1974758105938187518_n

डाक्टरले भर्ना गर्नुपर्छ भनेर भनेपछि बच्चालाई हस्पिटलमा राखिएको बताइएको छ । अहिले आमाको खुट्टामा लगाइएको व्यान्डेज निकालिएको छैन् । उठ्न र हिडडुल गर्न नसकेपछि आमालाई छोराको पिरसँगै खुट्टाको पीडा भएको छ । कसैकसैले त खुट्टा अव ठिक हुँदैन काट्नुपर्छ पनि भन्ने गरेका छन् जसले गर्दा पिडित परिवारलाई झनै चिन्ता बढाएको छिमेकी दिनेश लिम्बु सुनाउँछन् ।

सामान्य फुड पोइजनिङ्ग भएपछि सन्देशलाई एपेक्समा लगिएको र डाक्टरले रगत, दिशा, पिसाव र भिडियो एक्रे समेत गरेर चिन्ता नलिन भनेको सन्देशका बुवा नविन साह बताउँछन् । बच्चाले इन्जेक्सन लगाएको र उपचार गर्दाका बखत समेत बान्ता नरोकिएपछि डाक्टरको सल्लाह विनै ड्युटीमा खटिएकी नर्सले इन्जेक्सन दिएको र इन्जेक्सनले बच्चालाई भित्री शरिरमा पोलेको बुवा नविनले बताए ।

‘बच्चाले बाबा ढाड पोल्यो भन्दै आमा, फुपु सबैलाई खोज्यो अनि पानी पिलाएपछि बच्चा त्यत्तिकै अलाङ्गटलाङ्ग भएर गयो ’ सन्देशका बुवा नविन साहले भने । हस्पिटलका नर्सहरु टिकटक बनाउँदै बसेको तर डाक्टरलाई नसोधी ओभरडोज सुई दिएको नविनको आरोप छ ।

बच्चालाई ओभरडोज सुई दिएपछि आफुहरुलाई यहाँ उपचार हुन सक्दैन धरान लानुहोस भनेर मृत बच्चा धरान लग्न एपेक्सले अह्राएको नविन बताउँछन् ।सन्देशलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याए लगत्तै डाक्टरले बच्चा मृत भएको घोषणा गरेका थिए ।

पीडित परिवारले बच्चा सन्देश साहको उपचारमा एपेक्स हस्पिटलले लापरबाही गरेको भन्दै हस्पिटल र डाक्टरको लाइसेन्स खारेजी हुनुपर्ने माग गर्दै आन्दोलन चर्काएका थिए ।

दिनभर तातो घाममा आफ्नो छोरालाई काखमा बोकेर न्यायको आन्दोलनमा उत्रिएका नविनकी श्रीमती पनि आन्दोलनका क्रममा घाइते भइन् । घाइतेको उपचार इटहरीकै सामुदायीक अस्पतालमा गरिएको थियो । एपेक्सले घाइतेको उपचार गर्ने, बच्चाको क्षतिपुर्ती स्वरुप पाँच लाख रुपैँया उपलव्ध गराउने र आमालाई अर्को बच्चा बनाउने पहल स्वरुप उपचारमा सहयोग गर्ने सम्झौता भएको भएपनि अहिले हस्पिटलले आफुहरुलाई भेट्नै नचाहेको नविन बताउँछन् ।

सन्देश साहकी आमाको खुट्टामा लागेको चोटको उपचार इटहरी स्थित सामुदायिक अस्पतालमा गरिएको थियो । उनको खुट्टामा ५२ टाँका लगाउनु परेको उपचारमा संलग्न सामुदायिक अस्पताल इटहरीका डाक्टर डिल्लि रिजाल बताउँछन् ।

278977092_1393891341089269_4557503863303203397_n

एपेक्स हस्पिटलले आमाको उपचारका लागि ३० हजार रुपैयाँ दिएको भएता पनि आफुले सामुदायीक अस्पताललाई अझै पनि ५० हजार तिर्न बाँकी रहेको पिडित परिवारले बताएको छ ।

आफ्नो पहिलो र एक्लो बच्चा बितेपछि अर्को बच्चाको पहल गर्न हस्पिटलले परामर्श लगायतको पहल गरिदिने शर्तमा आफुहरुले आन्दोलन रोकेको सन्देशका बाबु नविन शाहले बताए । ‘मेरो छोराको नाममा दिएको पाँच लाख म फिर्ता दिन पनि तयार छु तर मेरो अर्को बच्चा हुनु पर्यो ।’नविनले प्रदेश पोर्टलसँग भने ।

बच्चाको नाममा पाँच लाख रुपैयाँको चेंक हस्तान्तरण गरेपछि हस्पिटलले आफुहरुको फोन पनि नउठाउने र भेट पनि नदिने गरेपछि आफुहरु इलाका प्रहरी कार्यलय इटहरीमा उजुरीका लागि पुगेको भएपनि उजुरी नलिइएको नविन बताउँछन् । इलाका प्रहरीले उजुरी नलिएपछि पिडित परिवारले शनिवारनै जिल्ला प्रशासन कार्यलय पुगेर प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइसकेको छ ।

यससम्बन्धमा इलाका प्रहरी कार्यलय इटहरीका डिएसपि खगेन्द्र बहादुर खड्कासँग सम्पर्क गर्दा खड्काले आफुहरुसँग मौखिक उजुरीमात्र आएको तर लिखित रुपमा पिडितहरु नआएको बताए । ‘यदि उहाँहरु आउनु भयो भने कानुन सम्मत पहल गर्छौँ ।’खड्काले प्रदेश पोर्टलसँग भने ।

यता एपेक्स हस्पिटल प्रालिका अध्यक्ष राजेन्द्र पोखरेलले बच्चाको मृत्यु सस्कार खर्च र क्षतिपुर्तीको नाममा हस्पिटलले पाँच लाख ३० हजार रुपैँया दिइसकेको बताए । बच्चा अन्तिम अवस्थामा हस्पिटलमा आएको बताउँदै पोखरेल हस्पिटलका डाक्टरहरु सबै लाइसेन्स प्राप्त रहेकाले सेवामा कमजोरी नभएको दावी समेत गरे । आमाको उपचार र अर्को बच्चा पेटमा बस्न परामर्श गर्नेबारे कुनै सहमति र सम्झौता नभएको पोखरेलको भनाई थियो ।