इटहरीः भारत लगायत विकसित देशहरुको कोरोना संक्रमण बढेको भन्दै सरकारले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पूरा भएका सबैलाई ‘बुस्टर डोज’ खोप लगाउन आग्रह गरेको छ ।

चुनाव नजिँकिदै जाँदा भिडभाड बढ्ने भएको र छिमेकी मुलुकहरुमा छिटपुट रुपमा कोरोनाको नयाँ भेरियन्टको खवर आएसँगै सरकारले यस्तो आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुखले केही दिन पहिलामात्रै नेपाल भ्रमण गरेकाले पनि सरकारको यस्तो आग्रह आएको बताइएको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरि जोन्सन एन्ड जोन्सन खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको हो ।

पहिलाका दुई डोज जुनसुकै खोप लगाएको भए पनि बुस्टर मात्रा एस्ट्राजेनेका वा उपलब्धताका आधारमा जुनसुकै खोप दिइने मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयले खोप लगाए पनि स्वास्थ्य मापदण्डका ५ कार्यलाई निरन्तरता दिन सर्वसाधारणलाई आग्रह गरेको छ । ती ५ कार्यमा भौतिक दूरी कायम, मास्क प्रयोग, खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने काम, हातको सरसफाइ पर्छन् । मन्त्रालयले आफू बच्न, अरुलाई बचाउन, नयाँ भेरियन्ट आउन नदिन, संक्रमणको चक्र तोड्न र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न ती कार्यलाई निरन्तरता दिन आग्रह गरिएको हो ।