इटहरीः प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य सचिव हंशराज वाग्लेले आफु सदस्य सचिवको पदमा बहाल रहेसम्म नीजि स्वार्थका लागि तलमाथि नगर्ने प्रतिज्ञा गरेका छन् ।

आफु राजनितिक नियुत्तिबाट आएको भएपनि खेलकुद बुझेको व्यक्ति भएको हुनाले खेलका क्षेत्रमा, खेलाडीका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश एकले बिहिबार इटहरी स्थित इम्पेरियल लाउन्जमा आयोजना गरेको कार्यशाला गोष्ठिमा बोल्दै वाग्लेले खेल र खेलाडीका क्षेत्रमा भन्दा नीजि स्वार्थका लागि दुई रुपैँया तलमाथि गरेको दिन राजिनामा दिएर विदा हुने समेत बताए ।

वाग्लेले आफुले पाउने तलव भत्ता समेत खातामै राख्ने र आवश्यकता परेको खण्डमा खेलाडीको हितका लागि अवार्ड, पुरस्कार तथा उपचारमा समेत खर्च गर्ने बताए । आफु सदस्य सचिवमा नियुत्त भएको २३ औँ दिनमा आयोजना गरिएको कार्यशाला गोष्ठिमा वाग्लेले प्रदेश एकका १४ वटै जिल्लामा जिल्ला खेलकुद विकासका पदाधिकारीहरु नियुत्त गरिसकेको साथै, प्रदेश खेलकुदले गर्ने भावी कार्यक्रमको समेत ढाँचा बनाईसकेको बताए ।

IMG_0765

१४ वटै जिल्लाका खेलकुद विकासका पदाधिकारी र प्रशिक्षकहरु समेत बोलाइएको कार्यशाला गोष्ठिमा प्रदेशमा खेलकुद विकासका समस्या, चुनौती र भावी कार्ययोजनाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको थियो ।

कुनै समय प्रदेश एकका खेलकुदको दवदवा रहेको बताउँदै उनले अहिले प्रदेशमा खेलकुदको अवस्था मृत जस्तै भएको र यसलाई उचाईमा पुर्यान खेलकुदका पुर्वाधारहरुको विकास देखि लिएर खेलाडीहरुलाई प्रशिक्षण, प्रोत्साहन र सम्मानका कार्यक्रमहरु ल्याउने आफ्नो योजना रहेको सदस्य सचिव वाग्लेले बताए । उनले देशका लागी अन्तराष्ट्रिय स्तरसम्म पुगेर खेल खेलेका खेलाडीहरुलाई रेड कार्डको सिस्टल ल्याएर खेलमैदान, उपचार , बिमान र सपिङ्ग कम्प्लेक्सहरुमा छुटको व्यवस्था गर्न आफुहरु लागि पर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले खेलकुव विकास बोर्डको संरक्षक प्रदेश सरकार रहेकाले संरक्षण प्रदान गरिने र स्वभाविक रुपमा खेलकुदका क्षेत्रमा हिँजो भन्दा भोलीका दिनमा राम्रो बजेट विनियोजन हुने बताए ।

IMG_0773

कार्यक्रमका विशिष्ट अतिथी तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आँङवोले कहिले संघियता कार्यान्वयनको अप्ठ्यारो तथा कहिले कोभिडको समस्यका काराण प्रदेशमा अपेक्षित रुपमा खेलकुदको विकास हुन नसकेको बताएका थिए । उनले प्रदेश सरकारले अवका दिनमा प्रदेश खेलकुद विकास बोर्डलाई संरचनागत अभाव हुन नदिन प्रदेश स्तरबाट पहल गर्ने बताए ।

कार्यक्रमका अर्का अतिथी तथा प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवले खेलकुदका क्षेत्रमा र खेलाडीका लागि स्वास्थ्य सेवामा सहयोग गर्न आफुले बजेटमै व्यवस्था गर्ने र खेलकुद विकास बोर्डले दिने लिखित सुझावको सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रदेस सरकारका मुख्य सचिव रामप्रसाद घिमिरेले खेलकुद सामाजिक विकासको स्तर मापन गर्ने आधार समेत भएकाले यसको विकास गर्नु अपरिहार्य रहेको बताए । नवौ राष्ट्रिय खेलकुद नजिँकिँदै गरेकाले हार जित जे भए पनि प्रदेशले अनुशासित प्रतिस्पर्धा गरेर आउने विश्वास उनले व्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथीको रुपमा निम्त्याईका राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार विष्टले खेलाडीहरुलाई प्रोत्साहन, प्रशिक्षण, पुर्वाधार प्रतियोगिता र प्रतिभाको खोजी गरिनुपर्ने भनाई राखे । उनले नियुत्ति भएको २३ औँ दिनमै प्रदेश खेलकुद विकास बोर्डले राम्रो काम गरिरहेको भन्दै विहानीले दिनको सन्देश दिएझँै यसले भविश्यमा राम्रा कामहरु गरेर जाने आशा व्यक्त गरे ।

IMG_0734

खेलकुदलाई अनुत्पादक क्षेत्र भनेर त्यसमा कम बजेट विनियोजन गर्ने चलन रहेको भन्दै विष्टले उपस्थित मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए । खेलकुद एउटा उद्योग पनि भएको हुनाले खेलको विकास गर्न सके प्रदेशलाई खेलाडीले नै चिनाउन सक्ने हेसियत राख्ने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश एकका सामाजिक विकास तथा खेलकुद मन्त्री राजन राईले खेलाडी तथा खेलको नाताले देशलाई विश्वमा चिनाउने हुनाले खेलकुदका क्षेत्रमा अपेक्षाकृत बजेट बिनियोजन गरिदिन अर्थमन्त्रीलाई अनुरोध समेत गरे । युवराज काफ्लेले संचालन गरेको कार्यक्रमलाई प्रदेश खेलकुद विकास बोर्डकि उपाध्यक्ष जिना कार्कीले स्वागत गरेकी थिइन् ।

IMG_0791