इटहरीः प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका १४ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीलाई बिहिबार इटहरीमा बोलाएर कार्यशाला गोष्ठीको आयोजना गरेपछि प्रदेश भरीको खेलकुद चलाएमान हुने आशा पलाएको छ ।

लामो समयदेखि सुस्त रहेको खेलकुद क्षेत्र प्रदेश खेलकुद विकास बोर्डले नयाँ पदाधिकारी पाएसँगै चलाएमान हुने आशा पलाएको हो । प्रदेश खेलकुद विकास बार्डको सदस्य सचिवमा नियुक्ति पाएसँगै खेलकुद विज्ञहरुको सहभागितामा कार्यशाला गोष्ठीको आयोजना गरेर सदस्य सचिव हंशराज वाग्लेले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका खेलाडीलाई सम्मान गर्ने देखि लिएर रेड कार्ड वितरण गर्ने सम्मका महत्वकांक्षी योजना ल्याएपछि जिल्ला जिल्लामा पुनसंचनाना भएका खेलकुद विकास समितिका पदाधिकारीमा पनि उर्जा थपिदिएको छ ।

IMG_0702

बिहिबार भएको कार्यशाला गोष्ठीमा सहभागी हुन आएका पुर्वाञ्चल खेलकुद विकास समितिका निर्देशक शिव नारायण श्रेष्ठले तीन बर्ष पछि प्रदेश एकमा यस्तो खालको गोष्ठीको आयोजना भएको र यसले प्रदेशको खेलकुद गतिविधि चलायमान हुने आशा जगाएको बताए । प्रदेश पोर्टलसँगको कुराकानीमा श्रेष्ठले सदस्य सचिव स्वयम खेलाडी भएको नाताले उहाँले खेलाडीको मनोभावना बुझेको भएकाले प्रदेश एकको खेलकुद क्षेत्रमा आशाको सञ्चार गरेको भनाई राखे ।

प्रदेश एकको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कार्ययोजना निर्माण सम्बन्धि कार्यशालामा उपस्थित भएका संखुवासभाका कोर्ण कुमार गौलीले खेलकुदको क्षेत्रमा यस्ता कार्यक्रम विरलै हुने र केही समयदेखि सुस्त रहेको खेलकुद गतिविधिले चलायमान हुने अवस्था आएको बताए ।

यता खेलकुद विकास समिति इलामकी उपाध्यक्ष खेम कुमारी विनु राईले कार्यशाला गोष्ठीले सबैको समस्या र दुःख साटासाट गर्ने माध्यम भएको बताइन् । राईले बजेट लगायतका समस्या समाधान गर्न अवको प्रदेश खेलकुद विकास बोर्ड क्रियाशिल हुनेमा आशावादी रहेको बताइन् ।

यसैगरी कार्यशाला गोष्ठीमा उपस्थित खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दिपक राईले नवौ राष्ट्रिय खेलकुदलाई केन्द्र विन्दुमा राखेर गरिएको गोष्ठी फलदायी रहेको बताए । पहिलाको खेलकुद विकास समितिको खातामा भएको बजेट आफुहरुले खर्च गर्ने वातावरण नभएको बताउँदै राईले सदस्य सचिवले बजेटको व्यवस्थ गर्ने आश्वासन दिएको र छोटो समयमा धेरै काम गर्नुपर्ने जिम्मेवारी खेलकुद विकास समितिलाई आएको राईले बताए ।

IMG_0703

यता ओखल्ढुगाबाट कार्यशाला गोष्ठीमा सहभागि प्रविण श्रेष्ठले जिल्लाको खेलकुदका समस्या साटासाट गर्न आफुहरुलाई फ्लोर पनि आवश्यक परेको बताउँदै त्यो मौका जुटाइदिएकोमा प्रदेश खेलकुद विकास बोर्डलाई धन्यवाद दिए ।

व्याडमिन्टन खेलाडी समेत रहेका श्रेष्ठले निर्वाचन पछि अवस्य पनि जिल्लामा खेलकुदका गतिविधिलाई चलायमान बनाउने योजना आफ्नो रहेको सुनाए । बजेटको समस्या हुँदा कतिपय ठाउँमा आफ्नो पकेटबाट खर्च गरेर जिल्लाबासीलाई खेलकुदका क्षेत्रमा सहयोग गर्नुपर्ने अवस्था समेत आएको बताए ।

नयाँ जोश लिएर खेलकुदका क्षेत्रमै केहि गर्छु भन्दै आएकाले जिल्लाको खेलकुदलाई चलायमान बनाउँन जहाँ जति पहल गर्ने श्रेष्ठले प्रदेशपोर्टलसँग बताए ।

खोटाङ्गबाट कार्यशाला गोष्टिमा सहभागि हुन आएका सुमन राईले बिहिबारको कार्यशाला गोष्ठि खेलकुदका क्षेत्रमा टेवा पुर्याउने खालको रहेको बताए । बोर्डका सदस्य सचिव हंशराज वाग्लेले पदाधिकारी र कर्मचारीलाई आवश्वासन र हौसला समेत दिएको भन्दै खोटाङ्ग जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राईले आफु जिल्ला फर्किना साथ सवैसँग छलफल गरेर नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा खेलाडीको छनौट लगायतका विषयमा पहल गर्ने बताए । राईले खोटाङ्गबाट जिल्ला तथा क्षेत्रिय खेल खेलेका खेलाडीहरुलाई   सम्मान गर्ने आफ्नो उदेश्य समेत रहेको बताए ।

IMG_0705

उता खेलकुद कर्मचारी संघका केन्द्रिय अध्यक्ष रन्जन थापाले नेपालको खेलकुदको अवस्था उदासिन रहेको अवस्थामा प्रदेश खेलकुद विकास बोर्डले चालेको कदम सकारात्मक रहेको बताए । प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले कार्यशाला गोष्ठीले बोर्डलाई भावी कार्ययोजना निर्माण गर्न सहज बनाएको भनाई राखे ।

बोर्डका सदस्य तथा शैलेश कुमार विष्टले गोष्ठीले जिल्ला र प्रदेशलाई जोडने पुलको काम गरेको बताउँदै प्रदेश एकलाई खेल र खेलाडीमय बनाउन आफ्नो टिम लाग्ने बताए ।