इटहरीः हाल अव्यस्थित रुपमा अमर्यादित तरिकाले उद्योगहरुमा भईरहेको विधुत अवरोध विरुद्ध सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले गैर जिम्मेवारीपूर्ण तरिकाले विधुत अवरोध रहिरहने हो भने मजदुरहरुलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको तर्फबाट प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र नेपाल विधुत प्राधिकरण क्षेत्रीय कार्यालयमा विधुत अनियमिमताको ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएका छन् । विधुत प्राधिकरणले सुनसरीमा विभिन्न उद्योग, कलकारखानाहरुलाई हाल गैर जिम्मेवारी पूर्वक तालिका नै नबनाई लोडसेडिङ्ग गरेकाले त्यसको विरुद्धमा ज्ञापन पत्र बुझाईएको सापकोटाले बताए ।

सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विष्णु बरालका अनुसार प्रदेश नं. १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राई, नेपाल विधुत प्राधिकरण काठमाण्डौं, , नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल विद्युत् प्राधिकरण प्रदेश नं. १ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ मा बोधार्थ गरि ज्ञापन पत्र प्रदान गरिएको थियो ।

1 (3)

सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले वाचन गरि प्रदान गरिएको उक्त ज्ञापन पत्रमा “विद्युत् आपूर्तिमा भएको अवरोधका कारण उद्योगहरुको नियमित उत्पादन प्रक्रिया बाध्यताबस बन्द गर्नुपर्ने अवस्था सिर्जना भई श्रमिकहरुको सिफ्ट अनुसार काम नहुने, वैदेशिक ग्राहकको अर्डर समयमा पुरा गर्न नसक्दा निर्यात कार्यमा अवरोध हुने र पटक पटक पावर अनियमितताको कारणले नियमित प्रोसेसिङ्ग प्लान्टको उत्पादन प्रक्रियमा ठूलो क्षति व्यहोर्नु परिरहेको” उल्लेख गरिएको छ ।

सुनसरीको खनारमा रहेको नेपालकै सबैभन्दा धेरै रोजगार दाता उद्योग श्री रिलायन्स स्पिनिङ्ग मिल्स नेपालमै सबैभन्दा बढी विधुत महशुल भुक्तान गर्ने उद्योग रहेको छ । उक्त उद्योगका उपाध्यक्ष महेश पोख्रेलले हाल बढ्दो महङ्गी, अप्रत्याशित इन्धनको मूल्यवृद्धि र बिना सूचना लामो समयसम्म हुने विधुत अवरोधले उद्योग सञ्चालन प्रक्रियामा ज्यादै सास्ती भईरहेको बताए ।