इटहरीः आसन्न स्थानीय तहको निर्वाचनका लागि आफ्नो–आफ्नो चुनावी एजेण्डा लिएर इटहरीका दलहरु जनता माझ आएका छन् । चुनावको बेला जनतालाई आफ्नो प्रभावमा पार्नकै लागि भएपनि घोषणापत्रमा मिठा र आकर्षक कुरा लेखेर जनतालाई आफ्नो मत आकर्षित गर्ने र चुनाव जितेपछि घोषणापत्र फालेर जथाभावी गर्ने चलन पुरानै भएता पनि यसपाली कसले के लेखेका छन् भनेर हामीले मतदातालाई नजिकबाटै देखाउने प्रयत्न यहाँ गरेका छौं ।

इटहरी निर्वाचनमा एकातिर लामो समयदेखि इटहरीमा जित हासिल गर्दै गरेको नेकपा एमाले छ भने अर्कोतिर गठबन्धन गरेर चार दल तालमेल गरी अगाडी बढेका छन् । तालमेल गरेर अगाडी बढेका दलले संयुक्त संकल्पपत्र सार्वजनिक गरेका छन् भने नेकपा एमालले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

यता मंगोल नेशनल अर्गनाईजेसन, राप्रपा, जनता दल , मौलिक जरोकिलो पार्टी लगायत र स्वतन्त्र तर्फबाट समेत आफ्नो आफ्नो उम्मेद्वारी दर्ज भएका छन् । चुनावी मैदानमा उत्रिएका पार्टीहरुले कसैले घोषणापत्र सार्वजनिक गरेका छन् भने कसैले प्रतिवद्धता पत्र र कसैले कार्यन्वायन पत्र सार्वजनिक गर्दै भोट अपिल गरिरहेका छन् । बर्षेनी इटहरीलाई दुःख दिने बाढी नियन्त्रण सबैको घोषणापत्रमा अटाइएको छ ।

नेकपा एमालेले डुवानको समस्या समाधान गर्नका लागि पानीको उचित निकासका लागि ढलनिकासको वैज्ञानिक गुरुयोजना बनाई लागु गरिने बताएको छ । एमालले इटहरीको सिमा तथा नगरभित्र बग्ने बुढी, टेङ्ग्रा ,खेती, सुकुमारी, पानीपिया, सेरा खोलाले बर्षायामममा प्रत्येक बर्ष डुवानमा पार्ने गरेको भन्दै त्यसको समाधानका लागि संघ र प्रदेश सरकारसँग संवन्वय गरी डुवान नियन्त्रणका लागि पानीको निकास खोज्ने उल्लेख गरेको छ ।

एमाले नेतृत्वको सरकारले अघिल्लो पटकको स्थानीय निकायको निर्वाचन ताका पनि डुवानको समस्या समाधान गर्ने घोषणापत्रको बुँदा नम्बर एकमै खुलाएको थियो यद्यपी डुवान नियन्त्रणमा सिन्को नभाँचेको आरोप अहिलेको इटहरी सरकारलाई लाग्ने गरेको छ ।

उता नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनले पनि इटहरीलाई मुख्यत तीन वटा कारणले बर्षेनी डुवानको समस्या पार्ने गरेको भन्दै अव्यवस्थित ढल, सेरा र टेङ्ग्रा खोलाको पानी ओभरफ्लो हुनु र खोला पैनी मिचेर बनाइएका संरचनालाई कारण मानेको छ ।

गठबन्धनले सेरा खोलामा तटबन्धको निर्माण गर्ने , त्यहाँबाट ओभरफ्लो भएको पानीलाई बस्तीभन्दा माथिल्लो भुभागबाटै डाइभर्ट गर्ने इटहरीका खोला पैनीको नक्सांकन गर्ने र पहिचान गरी दिर्घकालिन समाधान गर्ने योजना अघि सारेको छ ।

280246926_724693671998132_4724566263049503455_n

उता स्वतन्त्र तर्फका उम्मेद्वार पदम कुमार अधिकारीले भने इटहरी उपमहानगरको उत्तरमा रहेको जंगलमा जलसञ्चय पोखरी निर्माण गरी बर्षाको पानीलाई संचय गर्ने , महेन्द्र लोकमार्गमा रहेका बन्द भएको २५ वटा ह्युमपाइप बन्द भएको र त्यसलाई खोल्ने साथै सेरा खोलालाई धरान उपमहानगरको सहकार्यमा जंगलभन्दा १ मिटर होचो हुनेगरी बालुवा झिक्ने अनि बाढी नियन्त्रणमा खर्च गर्नुको बदला आम्दानी गर्न सकिने योजना आफ्नो कार्यन्वायन पत्रमा उल्लेख गरेका छन् ।

इटहरीको समग्र विकासका लागि आफुले उपमहानगर योजना आयोग बनाउने घोषणा अघिल्लो स्थानीय तहको निर्वाचनमै गरेको इटहरी एमालेले पाँच बर्षमा नगरेपछि पुन उपमहानगर योजना आयोग बनाउने योजना अघि सारेका छ ।एमालेले उपमहानगरको सर्वाङ्गण विकासको लागि सम्भाव्यता अध्ययन तथा योजना तर्जुमा गरी सिफारिस गर्न उपमहानगर योजना आयोग गठन गर्ने बताएको छ ।

लोकतान्त्रिक बाम गठबन्धनले पनि भौतिक विकासको स्ट्रकचरल , आर्किटेक्चर,सिभिल इन्जीनियरिङ्ग, अर्थशास्त्री तथा विज्ञहरुको एक इटहरी विकास योजना समिती बनाउने र समितिको राय परामर्श लिएर काम अघि बढाउने बताएको छ ।

स्वतनत्र उम्मेद्वार रहेका पदम अधिकारीले पनि विषय विज्ञ एंव दक्ष जनशक्तिको समुह बनाएर परामर्शको का मगर्ने आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

सबैको प्राथमिकतामा परेको अर्को क्षेत्र भनेको खेलकुदको क्षेत्र हो । गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेद्वारी दिएका केशव कुमार विष्ट राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव भइसकेका व्यक्ति भएको हुनाले उनलेको समुहले प्रतिभावान खेलाडीहरु छनौट गरी कोच सहितको इटहरी राष्ट्रिय टिम निर्माण गर्ने साथै स्थानीय तहमा खेलाडी निर्माण गर्न प्रत्येक दुई बर्षमा इटहरी ओलम्पिकको आयोजना गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सम्मानका लागि इटहरी खेलकुद पुरस्कार निर्माण गर्ने , इटहरीमै स्पोर्टस एकेडेमी निर्माण गर्ने , उपमहानगरमै खेलकुद शाखाको व्यवस्था गर्ने , महिला खेलाडीलाई दोव्वर प्रोत्साहन भत्ता उपलव्ध गराउने देखि लिएर ओपन जिमको निर्माण गर्ने कुरालाई प्राथमिकता दिएको छ । इटहरीलाई नै स्पोर्टस सिटिको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उपमेयर उम्मेद्वार केशव कुमार विष्टले बताउँदै आएका छन् ।

नेकपा एमालले इटहरीमा रहेको रंगशालालाको संरक्षण गर्न दिगो स्थायी संयन्त्र निर्माण गर्ने वडा नम्बर २०, २, ३ , ५ , १५ र १९ मा भएका खेलमैदानको स्तरउन्नती गर्ने वडा स्तरिय खेलकुद प्रतियोगिताहरु संचालन गर्ने साथै एक खेललाई नगर खेलको रुपमा विकास गरी सो खेललाई प्रोत्साहन गर्ने प्रतिवद्धता गरेको छ । स्वतन्त्र उम्मेद्वार पदम अधिकारीले खेलकुदलाई युवाको पर्याय बनाउन खेलक्षेत्रका विज्ञ अग्रजको कार्यदल बनाई जिवनलाई खेलसँग जोड्ने बताएका छन् ।

सबैदलको घोषणापत्रमा परेको साझा विषय भनेको शिक्षाको विषय हो । शिक्षामा लोकतान्त्रिक गठबन्धनले शिक्षा क्षेत्रमा हालको बजेटलाई दोव्वर बनाई शैक्षिक विकासमा महत्वपुर्णका कामको थालनी गर्ने बताएको छ । पहिलो बर्ष इटहरीका ५ वटा माध्यामिक विद्यालयको शैक्षिक र भौतिक स्तर वृद्धि गर्ने र ५ वटालाई श्रोत स्कुलको रुपमा लिएर हरेक बर्ष ५ वटाका दरले चार बर्ष सम्ममा सबै विद्यालयलाई शैक्षिक र भौतिक रुपमा स्तरवृदि गरिसक्ने योजना अघि सारेको छ ।

विद्यार्थीको उमेर अनुसार सुविधायुक्त डेक्स बेन्च र अडियो भिडियो सहितको प्रोजेक्टरबाट पढाई गराउने गठबन्धनको योजना छ । जनता क्याम्पसलाई आंगिक बनाई छात्राबासको समेत व्यावस्थ ागर्ने र बिएससि र सिएसआईटीको पढाई गराउने साथै इटहरीको सामुदायीक विद्यालयबाट स्नातकोत्तर पास गरेका सिमान्तकृत दलित र महिला विद्यार्थीलाई प्रोत्साहन स्वरुप १० हजार उपलव्ध गराउने योजना समेत गठबन्धनको घोषणापत्रमा उल्लेख छ ।

नेकपा एमालेले पनि जनता क्याम्पसमा विज्ञान र इन्जिनियरिगको कक्षा संचालनका लागि आर्थिक सहयोग गर्ने कुरा आफ्नो प्रतिवद्धता पत्रमा खुलाएको छ । ५ बर्षभित्र सबै विद्यालयमा पुस्तकालय र मावि विद्यालयमा इ –पुस्तकालयको व्यवस्थागर्ने प्रतिवद्धता समेत नेकपा एमाले इटहरीको छ । सबै विद्यालयका कक्षाकोठामा इन्टरनेट सहितको स्मार्टबोर्डको समेत महत्वकांक्षी योजना एमालले अघि सारेको छ ।

स्वतन्त्र उम्मेद्वार पदम अधिकारीले शिक्षाका क्षेत्रमा इटहरी भित्र रहेका ३७ वटा विद्यालयलाई प्रतिस्पर्धी र सम्वन्यात्मक रुपमा विकास गर्ने उल्लेख गरेका छन् । उनले स्थानीय सरकारले पाठ्यक्रम बनाउने क्रममा पुर्वव्यावसायीक शिक्षा र नैतिक शिक्षालाई समेट्ने र अंग्रेजी भाषा, थारु भाषा र अन्य स्थानीय भाषालाई ऐच्छिक भाषाको रुपमा विकास गर्ने समेत अधिकारीले योजनामा राखेका छन् ।

अभिभावक चेतना अभिवृदि कार्यक्रम संचालन गर्ने साथै हप्ताको २ पिरियड संगीत, कला, साहित्य , रंगमन्च र सामाजिक राजनितिक चेतना अभिवृदिका लागि भिजिटर क्लास सन्चालन गर्ने योजना समेत अधिकारीको छ ।

स्वास्थ्यका लागि १५ शैयाको इटहरी अस्पतालको स्तरउन्नती गरी २५ वेडको बनाइने साथै सन्चालनमा रहेका स्वास्थ्य चौकिमा एक जना एमविविएस डाक्टर तथा ल्याव सहित स्तरउन्नती गरी प्रशुती सेवा उपलव्ध गराउने स्तरको बनाउने प्रतिवद्धता अघि सारेको छ । साथै एमालेले नगरभित्रमा २ हजार जना विपन्न समुदायलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याएर पहिलो बर्ष सय प्रतिशत दोस्रो बर्ष पचार र तेस्रो बर्ष पच्चिस प्रतिशत अनुदान दिने बताएको छ ।

पदम अधिकारीले इटहरी अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउन धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानसँगको सहकार्य गरिने साथै ६० प्रतिशत नागरिकको लगानीमा सुविधा सम्पन्न नागरिक अस्पताल निर्माण गरिने साथै रत्तदान गर्न योग्य नागरिकको अभिलेख राखि निशुल्क व्लड गु्रप छनौट कार्यन्वायन पत्र अघि सारेका छन् ।

गठबन्धनले पनि इटहरी अस्पताललाई भेन्डिेलेटर सहीतको आइसियु सेवा, डायलेसिस सेवा र ट्रमा सेन्टरको निर्माण गर्ने लक्ष्य संकल्पमा राखेको छ । प्रशुती वार्डको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने योजना समेत अघि सारेको छ । आकस्मिक सेवालाई चुस्त दुरुस्त बनाउन प्राथमिक उपचार सेवा सहितको मोवाइल अस्पताल सुरु गर्ने र भेण्डिेलेटर सहितको एम्बुलेन्स सेवा संचालन गर्ने लक्ष्य समेत गठबन्धनले संकल्प गरेको छ ।