इलामः १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) की स्वर्ण बिजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरीको मृत फेला परेकी छन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी चौधरी प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुमा रहेको घरमा मंगलबार मृत अवस्थामा भेटिएकी हुन् ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा ५९ केजी तौल समुहमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । उनी केहि दिन अघि भएको एसियाली छनोटमा भाग लिन राजधानी आएकी थिइन् ।

उनी प्रशिक्षक महर्जनको ललितपुर लुभुमा रहेको घरमा रहेर प्रशिक्षण गर्दै आएकी थिइन् । प्रशिक्षक सञ्जयको घरमा सोमबार भोजको आयोजना गरेकोमा सञ्जुमा पनि त्यसैमा सहभागि हुन लुभु पुगेकी थिइन् ।

सञ्जयले नै सञ्जुलाई सातौं राष्ट्रिय खेलकुदमा उनको प्रतिभा पहिचान गर्दैै भारोत्तोलन खेलमा ल्याएका थिए । सञ्जुले सन् २०१९ मा नेपालमै भएको १३औं सागमा स्वर्ण दिक जितेकी थिइन् । उनी दक्षिण एशियाली प्रतियोगितामा भारोत्तोलनतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । हाल चिनको ह्वाङ्गझाउमा हुने एशियन गेम्सको तयारीमा ब्यस्त रहेकी थिइन् ।

२०७३ को सातौं राष्ट्रिय खेलपछि सञ्जय महर्जनको प्रशिक्षण पाएकी उनले त्यसपछिका प्रायः राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो हुनुपरेको छैन । २०७४ मा भएको राखेप च्याम्पियनसिपमा उनले पहिलो पटक राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिताबाट स्वर्ण जितिन् । त्यसपछि राष्ट्रिय प्रतियोगिताहरुमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको थिएन् ।

सञ्जुसँग सम्म सातवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव थियो । २०१७ मा कोरियामा भएको एसियाकप तथा इन्टर क्लब च्याम्पियनसिपमा ३ रजत र ३ कास्य जितेकी थिइन् । त्यस्तै जाकर्तामा सम्पन्न १८ औं एसियन गेम्समा पनि उनले सहभागिता जनाएकी थिइन् ।