इटहरीः सुनसरीको एक मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्किएको छ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलको सुरक्षामा खटिएका जवानले बोकेको राइफल अचानक पड्किएको हो ।

राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो । प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भई मतदाता बीच भागदौड भएको थियो ।

मतदानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको राइफल पड्किए पनि घटनामा कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राइफल के कारणले पड्किएको भन्ने खुलेको छैन ।

घटनाले मतदान प्रक्रियामा भने कुनै असर नगरेको बताइएको छ । अहिले पनि मतदान प्रक्रिया जारी छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले घटनाका बारेमा छानबिन एवम् अनुसन्धान गरिने जनाएको छ ।