इटहरीः मतपेटीका लुट्ने प्रयास गरेको भन्दै प्रहरीले गोली चलाउँदा उदयपुरको कटारी नगरपालिका–१० एक जनाको मृत्यु भएको छ ।

कटारी नगरपालिका वडा नम्बर १० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर १९ बर्षीया नविन कटुवालको मृत्यु भएको हो । मृत्यु भएका कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको पार्टीबाट स्वतन्त्र उम्मेदवार बनेका गौरव बहादुर कटुवालका भतिज रहेको बुझिएको छ ।

प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन् ।नविनको छातीमा गोली लागेको छ । प्रहरीले चलाएको गोली लागेर घरमा बसिरहेका स्थानीय १३ बर्षीय मन श्रेष्ठ घाईते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । वाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । घाईतेलाई उपचारका लागि कटारी ल्याइएको छ ।

कांग्रेस कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्नेक्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाएको बताइएको छ । मदतान प्रकृया ५ः२० मा सकिसकेपछि दलका कार्यकर्ता बीच विवाद सृजना भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए प्रहरीको भनाई छ ।

शिलबन्दी गर्नेक्रममा ५०÷६० जनाको समूहले मतपेटीका लुट्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ ।