इटहरीः सोमबार बिहान ६ बजेदेखि मङ्गलबार बिहान ६ बजेसम्ममा पूर्व क्षेत्रमा ७ सय ७४ जना सवारी चालक कारवाहीमा परेका छन् ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयअन्तर्गतका कार्यालयबाट खटिएको टोलीले ती सवारी चालकलाई कारवाही गरेको जनाएको छ । कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४१ जना, मोटरसाइकलमा ३ जना चढाउने १४ जना, बिना हेल्मेट मोटरसाइकल चलाउने २७ जना र क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ८१ जना सवारी चालकलाई कारवाही गरिएको हो ।

सवारी चालक अनुमति पत्र नभएका ४६ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिने २८ जना, जथाभावी सवारी पार्किङ गर्ने २३ जना, रोक्न निषेध गरिएको स्थानमा सवारी चलाउने ६१ जना कारवाहीमा परेका हुन् । पार्किङ निषेधमा पार्किङ गर्ने १५ जना, सुरक्षा पेटी नबाँध्ने २२ जना र हेल्मेटको फित्ता नबाँध्ने २ जना कारवाहीमा परेका हुन् ।

कागजपत्र साथमा नराख्ने १ सय ९२ जना, सवारी साधनको बत्तीको अवस्था ठीक नभएका सवारी चलाउने १८ जना, हर्न निषेधमा हर्न बजाउने २ जना र तीव्र गतिमा सवारी चलाउने ६ जनालाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

ढोका खुल्ला राखी सवारी साधन चलाउने २४ जना, हद भन्दा बढी मालसामान ढुवानी गर्ने ४८ जना र लापरवाहीका साथ सवारी चलाउने १ सय १४ जना चालक पनि कारवाहीमा परेका छन् । त्यस्तै, विना रुट परमिट सवारी साधन चलाउने ५ जना, सवारी साधनको वाइफटको अवस्था ठीक नभएका ५ जना सवारी चालक कारवाहीमा परेका हुन् ।