इटहरीः प्रदेश एकका सडकमा अबदेखि भीडभाडको ससमयमा बेला ट्रिपर चलाउन नपाइने भएको छ । आगामी पुस १ गतेदेखि प्रदेश नम्बर १ का मुख्य राजमार्ग तथा सहायक राजमार्गमा बिहान ९ देखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजे सम्म ट्रिपर चलाउन नपाइने भएको हो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जारी गरेको सूचना अनुसार कार्यालय तथा शिक्षण संस्था खुल्ने समय आसपास र बन्द हुने आसपासको समयमा ट्रिपरमाथि रोक लगाइएको हो । बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजे देखि ५ बजे सम्म सडकमा धेरै सवारी आवागमन हुने भएकाले ट्रिपरलाई बन्देज गरिएको हो ।
‘विद्यालय जाने, अफिस जाने लगायतका अन्य काम गर्नका लागि यति बेला नै बढी आवागमन हुन्छ’, प्रदेश ट्राफिक कार्यालयका प्रमुख रविराज पौडेलले भने, ‘दुर्घटनाको समयलाई अध्ययन गर्दा धेरै दुर्घटना अफिस आवरमै हुने भएकाले निश्चित समयका लागि ट्रिपर बन्द गरिएको हो ।’
चालु आर्थिक वर्षको ४ महिनामा प्रदेश नम्बर १ मा भएका १२ दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालयसँग अभिलेख छ ।