इटहरीः १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा इटहरीका जनता मावि र मोडर्न प्रिप्रेटरी इङ्लिस स्कुलका १ सय २० जना विद्यार्र्थीलाई ट्राफिक सचेतना प्रदान गरेको छ ।

उता, ट्राफिक सचेतना सामग्री प्रशारणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाममा टेलिभिजन जडान गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आम नागरिकलाई जनचेतनामूलक सन्देश तथा श्रव्य दृश्य सामग्री प्रशारण गर्नका लागि टेलिभिजन जडान गरिएको बताइएको छ ।

इलाम–७ स्थित गोबिन्द ईलेक्ट्रिोनिक्स इलामले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई टेलिभिजन प्रदान गरेको हो । टेलिभिजन जडानसँगै श्रव्यदृश्य सामग्रीको प्रशारण इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधवप्रसाद श्रेष्ठ र सशश्त्र प्रहरी बल १ नं गणका प्रमुख विदुरकुमार खड्काको उपस्थितिमा गरिएको बताइएको छ ।

भोजपुर–६ बोखिम लाइनमा मोटरसाइकल चालकहरूलाई विभिन्न ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरेको पनि कार्यालयले जनाएको छ ।

झापाको मेचीनगर– १३ कालिझोडास्थित ट्राफिक प्रहरी पोष्ट चारआलीले बढी दुर्घटना हुने स्थानहरूमा दुर्घटना ग्रस्त क्षेत्र लेखिएका होडिङ बोर्ड राखिएको जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर ६ स्थित काकडभिट्टामा ट्राफिक प्रहरी पोष्ट काकडभिट्टा र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा सवारी साधनका चालकहरूलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरी सडक सुरक्षा नेपाल लेखिएको स्टिकर टाँस्नुका साथै पर्चा पम्पेट समेत वितरण गरिएको बताइएको छ ।

मेचीनगर– ११ स्थित शहीद दशरथ चन्द उच्च माध्यमिक विद्यालय र मेचीनगर– १४ स्थित शुभोधनी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ ।

कोशी लोकमार्गको धनकुटामा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई ट्राफिक सचेतनाकामूलक प्रशिक्षण दिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

traffic sachetana (2)