विराटनगरः आफ्नै महिला अनुयायी माथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने सुनसरीको चतराधाम बस्ने कृष्णबहादुर गिरीको मुद्दामा अहिले उच्च अदालत विराटनगरमा सुनुवाइ भइरहेको छ । निर्वाचनको समयमा सुनुवाई सार्न पीडित पक्षले निवेदन दिएपनि त्यसेको वेवास्था गर्दै अदालतले सार्न नमिल्ने भन्दै सुनुवाइ थालेको हो ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाई दिएको थियो । जिल्लाको फैसला विरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थियो । जिल्लाको फैसला विरुद्ध सिद्धबाबा पनि २०७७ चैत २६ गते उच्च अदालतमा पुगेका थिए । दुवै निवेदन लगाउमा छन् ।

उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सो मुद्दाको सुनुवाई भइरहेको हो । २०७६ कात्तिक ४ गते राती सिद्धबाबाले करणी गरेको आरोपसहित पीडितले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले सहमति करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो । श्रोतका अनुसार आज उनलाई उच्च अदालतले सफाई दिने पक्कापक्की जस्तै छ । पिडित महिलाका श्रीमान्ले भने उच्च अदालतले सरकारी वकिलको आग्रहलाई पनि नमानेकाले न्यायधिशको भूमिकामाथि शंका गर्ने ठाँउ धेरै भएको बताएका छन् । उनले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीका पक्षमा फैसला आएका त्यसका विरुद्ध लगत्तै सर्वोच्च अदालतमा जाने जानकारी दिए ।