“ केटाः ऋणको भारी बोकाएर ठेल्यो घरदेशले

नुनको गुन तिराएर पेल्यो परदेशले

केटी ः नजाऊ भन्दा नमानेर गयौ आफ्नै रहरले

देशमै काम गरिखाऊ भन्थे गाउँ–शहरले

युगलः रहरले परदेशी कोही हुन्न

दुस्खमा नपरी कोही रुन्न ।’’

अभाव,आवश्यकता र बाध्यताले देश छोडेर विदेशिन विवश लाखौँ नेपाली युवाहरुको साझा अनि सत्य कथा गीतको रुपमा सार्वजनिक भएको छ । एउटा युवा दुःख गरेर पढ्छ,दक्ष हुन्छ तर देशमा आफ्नो योग्यता अनुसारको काम पाउँदैन । हातभरी शैक्षिक प्रमाणपत्रहरु बोकेर रोजगारीको लागि बिभिन्न निकाय चाहार्दा पनि जागिर नपाएपछी बाध्य भएर घर–जग्गा धितो राखेर चर्को व्याजदरमा पैसा काढ्छ र विदेशिन्छ ।

आर्थिक र भौतिक रुपमा सवल अनि प्राकृतिक रुपमा सुन्दर देशमा पुगेर काम त शुरु गर्छ तर आफ्नो मन,मुटु स्वदेश तथा घर–परिवारसँगै पुगीरहँदा ‘होमसिक’ले लगभग डिप्रेसनको शिकार बन्छ । वृद्ध बाआमा, जवान श्रीमती अनि नावालक छोरालाई चटक्कै छोडेर बिदेशिनु रहर नभएर कहर भएको स्वीकारोक्तीसँगै चित्त बुझाउने कोशिस त गर्छ तर उता प्राण प्यारीको ‘कि त मलाई उतै लैजाऊ नत्र तिमी आऊ, एउटा मुटु दुईटा हुँदा झन् दुख्छ घाउ ।’( फोन संवादले विरक्तिन्छ )

गीतले झन्डै असी लाख आप्रवासी नेपालीहरुको साँझा कथा बोलेको छ । खासगरीकन शैक्षिक वेरोजगार अनि स्वदेशमा व्याप्त बेरोजगारी समस्याले उत्पन्न गरेको जर्जर परिस्थितिलाई उजागर गरेको छ । आफ्नै देशमा कामको अवसर भए बिदेशिन रहर कसलाई हुन्छ र ? भन्ने गहन विषय र यथार्थ भावको प्रतिनिधित्व गर्दै प्रस्तुत गीत यहि ४ जेठ २०७९ बुधबारदेखि साईराम पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

पर्यटन उद्योगमा चमत्कारिक विकास गरेको,टापुहरुको देश,पूर्वी अफ्रिकाको सेसेल्समा छायांकन गरिएको यो पहिलो नेपाली म्युजिक भिडियो बनेकोछ । यहीं कार्यरत केही सिर्जनशील नेपाली युवाहरुको साँझा प्रयासमा निर्मित यो म्युजिक भिडियोको गीतमा गणेश खड्काको शब्द,राजनराज शिवाकोटीको सङ्गीत,स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेकोछ ।

सेसेल्स र नेपालमा आधा–आधा भाग छायांकन गरिएको गीतको भिडियो सुरेश पाण्डेले निर्देशन र पंकज श्रेष्ठले सह–निर्देशन गरेका हुन् । आरपी पन्त,गरिमा शर्मा,निर्मल शर्मा र ममता लामाको जीवन्त अभिनय रहेको प्रस्तुत भिडियोमा पंकज श्रेष्ठ,मनोज बिक,आरसी राई,खेम गोदार थापा,देवसिंह ठकुरी,विकाश थापा मगर,शिवराम अर्याल,चन्द्र चेम्जोङ साथै बाल कलाकारमा तिलक बिकले सहायक भूमिका निर्वाह गरेका छन् । गुरिल्ला रक क्रियसनको पहिलो प्रस्तुती रहेको यो गीतको निर्माण पक्षले प्रवासमै रहेर पनि आफ्नो भाषा,साहित्य,सङ्गीत,संस्कृति र कलाको उन्नयनका निम्ति आगामी दिनमा पनि सक्दो प्रयास गर्ने बताएको छ ।