विर्तामोडः झापा जिल्लाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले विजयी भएका हुन् ।

गाउँपालिकामा निर्वाचित शाहले ६७९८ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी एमालेका गौरीशंकर राजवंशीले ४३६५ मत प्राप्त गरे ।उपाध्यक्ष पदमा निर्वाचित थपलियाले ५८६८ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिष्पर्धी एमालेकी उम्मेदवार देवीमाया अधिकारीले ४३७१ मत प्राप्त गरिन् ।

मुलुक संघीयतामा गएसंगै २०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा समेत झापा गाउँपालिकामा अध्यक्ष पद नेपाली कांग्रेसका तर्फबाट शाहले नै जित हासिल गरेका थिए । तर, उपाध्यक्ष पदमा एमालेबाट कुन्तादेवी वुढाथोकीले जित हासिल गरेकी थिइन् ।

यस पटक भएको निर्वाचनमा दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको हो । सात वटा वडा रहेको यो पालिकामा ५ वटा वडामा वडाध्यक्ष समेत नेपाली कांग्रेसले नै जित हासिल गरेको छ । दुई वटा वडामा भने स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका हुन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउँदै वडा नम्वर ३ मा सुभाषलाल गणेशले वडाध्यक्ष बाजी मारे । त्यस्तै वडा नम्वर ५ मा कृष्ण प्रसाद राजवंशीले वडाध्यक्षमा जित हासिल गरे ।

झापा गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसका तर्फबाट राजकुमार यादवले दोस्रो कार्याकालका लागि वडाध्यक्षमा निर्वाचित भए । त्यस्तै वडा नम्वर २ मा नेपाली कांग्रेसका तर्फबाट हिमाल कुमार चम्लगाई, ३ मा स्वतन्त्र उम्मेद्वार सुभाषलाल गणेश, ४ मा नेपाली कांग्रेसका महमत ताहिर, ५ मा स्वतन्त्र उम्मेद्वार कृष्ण प्रसाद राजवंशी, ६ मा नेपाली कांग्रेसका तर्फबाट नवीन किशोर थापा र वडा नम्वर ७ मा शखीचन्द्र ठाकुर निर्वाचित भएका छन् ।