इटहरीः नवनिर्मित रामधुनी नगरपालिकाको प्रशासनिक भवनको प्राङ्गढमा टेन्ट टाँगेर विशाल स्टेज निर्माण गरिएको थियो । हिजो बिहिबारमात्रै मतगणना सकिएपछि विजयी घोषित गरिएका जनप्रतिनिधिहरुलाई सपथ र पदस्थापन अनि पुराना जनप्रतिनिधिलाई फेरी भेटौँला कार्यक्रमको संयोग । कोही पहिलेदेखिनै कार्यक्रम स्टेजमा आएर बसेका थिए । कोही आउँदै थिए । वडा नम्बर ९ बाट निर्वाचित भएका जनप्रतिनिधिको टोलीनै निकै ढिला गरी कार्यक्रम स्थलमा प्रवेश गर्यो । अरु सबैका अविर पुछिएका थिए तर नौ नम्बर वालाहरुको परिणाम बिहिबार ढिलो गरी आएकोले होला विजय उत्सवको चटारो उनिहरुलाई थियो ।

निर्वाचन अधिकृत विजयराज सुवेदीले निर्वाचित जनप्रतिनिधिलाई विजेता प्रमाणपत्र हस्तान्तरण गरेपछि कार्यक्रमको सुची छोटो भयो । विहानै जिल्ला न्यायधिशबाट सपथ ग्रहण गरेर आएका नव निर्वाचिन नगर प्रमुख शंकरलाल चौधरीले निर्वाचित उप प्रमुख तारा थापा, ९ वटै वडाका वडाध्यक्ष र ३६ जना वडा सदस्यहरुलाई लहरै राखेर देश र ईश्वरका नाममा सपथ ग्रहण गराए ।

सपथ ग्रहणको कार्यक्रम सकिदै गर्दा निवर्तमान जनप्रतिनिधिलाई नव निर्वाचित नगरप्रमुखबाट मायाको चिनो हस्तान्तरण भयो । मायाको चिनो हस्तान्तरण सकिनै लाग्दा मञ्चमा बसेका वडा अध्यक्षहरु भटाभट उठ्न थाले । कार्यक्रम संचालकले कार्यक्रमको सुची बताइनै रहेका थिए तर वास्ता खासै गरिएन् । प्यानल प्यानल बनेका नयाँ जनप्रतिनिधिहरु फोटो खिच्न थाले र एका दुई गर्दै मञ्चबाट ओर्ले र सबै आफ्नो आफ्नो बाटो लागे । हिड्नेहरु एक्लै गएनन्, आफ्ना निर्वाचित वडा सदस्यहरुको समुहनै लिएर हिँडे ।

281093090_4019389928286844_8890556381839798061_n

कार्यक्रम शुभकामना दिने चलिरहेको थियो । शुभकामना कार्यक्रममा नेपाली कांग्रेसमा कार्यबहाक नगरसभापति, नेकपा एमालेका प्रदेश कमिटि सदस्य र नेकपा एकीकृत समाजवादीका नगरकमिटिका एक जना पदाधिकारीले केही शव्दको शुभकामना दिए ।

जाँदा जाँदै मन्तव्यको अवसर पाएकी निवर्तमान नगर उपप्रमुख सविना चौधरीले मञ्च छाडेर भटाभट निस्किएका जनप्रतिनिधिप्रति आलोचनात्मक टिप्पणी गरिन् ।
भर्खरै देश र जनताको नाममा सपथ खाएका जनप्रतिनिधिहरुले सपथको बचन केही छिनमै विर्सिएर उनिहरुकै लागि आयोजना गरिएको कार्यक्रमको उपेक्षा गर्दै मञ्च छाडेर हिडेकोमा चौधरीको आक्रोश समेत पोखिन् ।

280977873_1672044003152078_369688174151037333_n

उनै निर्वाचित जनप्रतिनिधिको लागि भनेर खर्च गरेर बनाइएको मञ्च र स्टेजको सम्मान नगरी विजयी बनेको प्रमाणपत्र लिँदै गर्दा पनि उनिहरुले सम्मान गर्न नसकेको सविनाको भनाई थियो । भोली जनताको काम गर्दा यस्तो नहोस् भन्दै चौधरीले नवनिर्वाचित जनप्रतिनिधिलाई आफुहरुको सहयोग आवश्यक परे आफुहरु सदैव गर्न तयार रहेको बताइन् ।

शुक्रबारबाटै वडा कार्यलयहरुमा गएर कार्यभार सम्हाल्नका लागि नवनिर्वाचितहरु वडा सदस्यहरु सहित वडा कार्यलय तर्फ निस्किएको बताइएको छ । 'उहाँहरुलाई आजैबाट कार्यभार सम्हाल्ने सुचना आएको रहेछ त्यसैले विचमै छाडेर हिडनुभयो' कार्यक्रममा उपस्थित एक जनप्रतिनिधिले भने । 

कार्यक्रममा बोल्दै निवर्तमान नगरप्रमुख जयप्रकाश चौधरीले आफुले लिएको ऋण नयाँ जनप्रतिनिधिले तिर्नेमा आफु ढुक्क रहेको बताए । उनले ६२ हजार जनताको मुहारमा खुसी छर्नु निर्वाचित जनप्रतिनिधिको कर्तव्य भएकाले त्यो अभिभारा हासीहासी ग्रहण गर्न आग्रह गरे । बालमैत्री नगर घोषणा गर्नु रामधुनीको ठुलो उपलव्धी रहेकाले त्यसलाई कायम राख्ने चुनौती नव निर्वाचित जनप्रतिनिधिहरुको काँधमा रहेको समेत चौधरीले सम्झाएका थिए ।

Artboard 10 (1)