हर्क साम्पाङ । यो नाम हो सुनसरीको धरान उपमहानगरपालिकाका स्वतन्त्र सामाजिक अभियन्ताको, जसले धरानका जनतालाई स्थानीय स्तरका समस्याको समाधानका लागि राजनीतिक दलको अन्धभक्ति गर्न छोड्नुपर्ने तथ्यबोध गराए । नागरिकका समस्याको समाधानका लागि नागरिकलाई अग्र मोर्चामा राखी त्यसको नेतृत्व लिएर अगाडि बढेका साम्पाङले आफ्ना जनहितकारी अभियानहरुकै माध्यमबाट धराने जनताका मनमा आफूलाई उतार्न सफल देखिएका छन् ।

धरानवासी जनताका मुख्य तीन समस्याहरुलाई आफ्नो मुल एजेन्डा बनाएका साम्पाङ तीनै एजेन्डा लिएर अहिले स्थानीय सरकारको नेतृत्वमा पुग्ने दौडमा होमिएका छन् । पहिलो खानेपानी, दोस्रो सुकुम्बासी व्यवस्थापन र तेस्रो नदी नियन्त्रण तथा नदीजन्य स्रोतको संरक्षण । यी तीन ओटा मुख्य एजेन्डामा उनले देखाएको सक्रियताले उनले जुन विश्वास आर्जन गरेका छन्, त्यो स्पष्ट रुपमा मतपेटिकामा प्रकट भएको छ । अहिलेसम्मको चुनावी दौडमा साम्पाङ वर्षौँ पुराना दलका झन्डा ओढेर आफ्नो राजनीतिक भविष्य खोजिरहेका उम्मेदवारहरुबीच भारी परेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा सूर्य चिन्हबाट विजय प्राप्त गरेको नेकपा एमाले तथा उपनिर्वाचनमा सो दललाई धुलो चटाएको रुख चिन्हधारी नेपाली कांग्रेस दुवै दलहरु अहिले स्वतन्त्र रुपमा लौरो लिएर उठेका साम्पाङको लौरोको चोटबाट हायलकायल भइरहेका छन् ।

४१५८७ मतगणना हुँदा सम्म स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईभन्दा १६०० मतले फराकिलो अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार मेयरका लागि स्वतन्त्र उम्मेदवार साम्पाङले १२८०५ मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले ११२०५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । त्यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ९१४८ मत प्राप्त गरेकी छिन् ।

उनलाई यो हदसम्मको भारी अग्रता खैरातमा प्राप्त भएको भने निश्चय नै होइन । यसका पछाडि उनले स्थानीय नागरिकको सर्वोपरि हितलाई ध्यानमा राखेर लामो समयदेखि धैर्यवान भई गर्दै आएको निःस्वार्थ र इमानदार सेवा तथा दूरदर्शी चेतको महत्वपूर्ण देन छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका अनियमितता निवारणका लागि आवाज बुलन्द गरेका साम्पाङ भ्रष्टाचार नियन्त्रणका लागि पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । सूचनाको हकको कार्यान्वयनबाट मात्र पनि धेरै हदसम्म भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बुझेका उनले यसको कार्यान्वयनका लागि पनि राम्रै कष्ट उठाएका छन् । स्थानीय सत्ताका विरुद्ध साम्पाङले दायर गरेका भ्रष्टाचार तथा सूचनाको अधिकार हननसम्बन्धी मुद्दाका फेहरिस्त उनको सक्रिय भ्रष्टाचारविरोधी प्रतिरोधको प्रतिक हो ।

Artboard 10 (1)

भ्रष्टाचार र अनियमितताको विरोध गर्ने र नागरिकको हितको प्रवद्र्धन गर्ने उनको यात्रामा विभिन्न अवरोधहरुसमेत आएका छन् । उद्योग वाणिज्य संघ इटहरीका वर्तमान अध्यक्षसमेत रहेका ट्रिपर व्यवसायी भीम पौडेलको सक्रियतामा भइरहेको सर्दु खोलाको गिट्टि बालुवाको अनाधिकृत दोहन रोक्न खोजेकै कारण साम्पाङ र उनको समूहमाथि प्रहरी र व्यवसायी पौडेलका गुन्डाहरुले २०७८ जेठ २६ गते कुटपिटसमेत गरेको थियो ।

त्यस घटनामा धरानका मेयर तिलक राई, धरानका तत्कालीन प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्र बस्नेत र खोला ठेकेदार भीम पौडेलबीचको मिलेमतोका कारण साम्पाङको समूहका सात जनालाई पक्राउ गरी साम्पाङलाई समेत झुठो मुद्धा लगाइएको आरोप साम्पाङ स्व्यंले लगाएका थिए । यस प्रकारले जनकल्याणकारी काम गर्दासमेत राजनीतिक दल तथा ठूला व्यवसायीहरुको निशानामा परेका साम्पाङ दलहरुको यस्तै अलोकतान्त्रिक र जनविरोधी हर्कतका कारण आफूले दलहरुको दलदलबाट धरानलाई मुक्त गराउन स्वतन्त्र उम्मेदवारी दिएको जिकिर गर्छन् । स्थानीय राजनीतिक दलहरु निहित स्वार्थ पुर्तिका लागि मात्र जुट्ने तर नागरिकको वास्तविक समस्यासँग कुनै सरोकार नराख्ने आम प्रवृत्ति धरानमा पनि समान रुपमा रहेको भन्दै उनी जनताको जीवनस्तरमा वास्तविक परिवर्तनका लागि आफू नेतृत्वमा आउने दौडमा होमिएको बताउँछन् ।

साम्पाङसँग धराने जनतालाई बाँड्न ठूलाठूला सपनाका महल छैनन् । आफूले चुनाव जिते कुर्सीमा बसेर नभई भुईँमा बसेर जनताको सेवा गर्ने अठोट बोकेका साम्पाङ स्थानीय स्तरमा उपलब्ध सामान्यभन्दा सामान्य स्रोतको परिचालनबाट नगरलाई समृद्ध बनाउन सकिने धारणा राख्छन् । उनका विचारमा किसानले खेतबारीमा उत्पादन गरेको बेसारको बजारीकरण गरेर मात्र पनि राम्रो आम्दानी लिन सकिन्छ ।

भ्रष्टाचार निवारण र सूचनाको अधिकारमा पहुँच अभिवृद्धिको पुरानै अभियानमा दृढ रहेका साम्पाङ सूचनामा जनताको पहुँच पुर्याएर सत्तालाई जनताको नियन्त्रणमा ल्याउन सकिने विश्वास व्यक्त गर्छन् । गामिण भेगका जनतालाई यातायात र सञ्चार सञ्जालसँग आबद्ध गर्न आवश्यक रहेको अनुभूत गरेका उनी खानेपानी र बाढीको समस्याबाट नागरिकलाई उन्मुक्ति दिने कार्यमा आफ्नो विवेक र सामथ्र्यको प्रयोग गर्ने बताउँछन् । सप्तकोसीको पानी धरानका नागरिकको घरघरमा पुर्याउने उनको योजना हो ।

नागरिकलाई अभाव र गरीबीको मारमा पारी सत्ताको आस्वादनमा लिप्त दलहरुको कर्मकाण्डी घोषणापत्रका बकम्फुसे रटानबाट आजित भएका धरानका नागरिकको विवेक मतपेटिकामा प्रतिबिम्बित होस् र धरानले साँचो अर्थमा जनताको शासन अनुभूत गर्न पाओस् भन्ने धरानवासीको पवित्र इच्छा र उद्देश्यमा कसैको नजर नलागोस् भन्ने कामना ।