इनरुवाः प्रदेश एकका पूर्व मूख्यमन्त्री भीम आचार्यको वडामै एमाले पत्तासाफ भएको छ । इनरुवाको वडा नम्बर ६ घर भएका आचार्यको वडामा एमालेले एकजना उम्मेदवार समेत जित्न सकेन ।

गड मानिदै आएको इनरुवाको ६ नम्बरमा यस पटक एमालेले नसोचेको हार बेहोरेको छ । टिकट वितरणमा चरम असन्तुष्टि खेपेको वडाले अन्ततः परिणाम समेत गुमाउनु परेको छ ।
मत परिणाम अनुसार ६ नम्बरमा नेपाली कांग्रेसले प्यानल सहितको ऐतिहासिक जीत हात पारेको छ । कांग्रेसका सुमन थापाले एमालेका पुराना नेता लक्ष्मण कार्कीलाई ४ सय ७० मतको भारी अन्तरले पराजित गरेका छन ।

कांग्रेसले वडा सदस्य तर्फ समेत एमाले उम्मेदवारमाथि भारी मतान्तरको जीत निकालेको छ । वडा नम्बर ६ को सदस्य तर्फ कांग्रेसका उत्तम कुमार कार्की, कृष्ण कुमार श्रेष्ठ, सविता सुवेदी र अनुपा मोची निर्वाचित भएका छन । वडामा नगर प्रमुख र उप प्रमुख तर्फ समेत एमाले भन्दा कांग्रेसका उम्मेदवारले ज्यादा मत पाएका छन ।

पार्टीको प्रभावशाली नेता मानिने आचार्यको लोकप्रियता पछिल्लो समय भने घट्दो क्रममा रहेको थियो । उनलाई स्वयं आफ्नै वडावासीले पत्याउन छाडेका थिए । धेरैले उनको साथ समेत छाडेका थिए । जसकारण समेत वडामा एमाले भित्र दरार पैदा हुन पुग्यो । टिकट वितरण प्रतिको असन्तुष्टि र पार्टी भित्रैबाट नेता कार्यकर्ताको अन्तरघातले स्थानीय तहको निर्वाचन परिणाम कांग्रेसको पोल्टामा पुर्यायो ।

इनरुवा ६ मात्र नभई आचार्यकै छिमेकी वडा ५ नम्बरमा समेत उसले नराम्रो संग हार बेहोर्नु परेको छ । सो वडामा समेत एमाले भित्र टिकट वितरण प्रति चर्को असन्तुष्टि देखिएको थियो । जसलाई एमालेले मिलाउन सकेन र बागी उम्मेदवारका कारण ५ मतले अध्यक्ष पद गुमायो । जहाँ एमालेका गोपी ढकाललाई पराजित गर्दै कांग्रेसका उम्मेदवार अनिल पोखरेलले बाजी मारे ।