इटहरीः धरान उपमहानगरपालिकाको मेयरमा लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिएका धरानका सामाजिक अभियान्ता हर्क साम्पाङ राई विजयीको नजिक पुगेका छन् ।

धरानको पछिल्लो मत परिणाम अनुसार ५७२८७ मत गन्दा हर्क साम्पाङले १९१५५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १४९९६ मत प्राप्त गरेका छन् । किशोर भन्दा हर्क ४१५९ मतले अगाडि छन् । अब ४६२१ मत मात्र गन्न बाँकी रहेको छ । हर्कको विजय सुनिश्चित नै भईसकेको बताइएको छ ।

एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी धरान उपमहानगरपालिकाकी निर्वतमान उपमेयर मञ्जु भण्डारीले १२१४३ ल्याएकी छन् । उनि मतगणनाको शुरुवातीबाटै तेस्रो स्थानमा रहँदै आएकी थिइन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले १८८६४ मत प्राप्त गरेका छन् । एमालेका पदम इस्वो लिम्बूले १६५८१ मत प्राप्त गरेका छन् । बेघाले लिम्बूलाई २२८३ मत अन्तरले पछाडि पारेका छन् । बेघाको पनि विजयी सुनिश्चित नै भएको छ ।