इटहरीः बषौँ देखि वाम किल्लाको रुपमा चिनिएको इटहरी उपमहानगरमा २०७९ को स्थानीय निर्वाचनसंगै वाम किल्ला तोडिएको छ । सुनसरी जिल्लाकै धेरै जनसंख्या भएको पालिकाको रुपमा परिचीत इटहरीमा कांग्रेसले अहिलेसम्म नेतृत्व पाएको थिएन तर यसपालि एमालेलाई एक्लाउन बनेको गठबन्धनले मेयरमा एमालेको एकाधिकार भने तोडिदिएको छ ।

एकाधिकार नगरप्रमुख अर्थात मेयरमा मात्रै तोडिएको हो । इटहरी निर्वाचनको रोचक पक्ष भने अझै चाखलाग्दो छ । मेयरमा नेकपा एमालेबाट उम्मेद्वार बनेका याम कुमार सुव्वाले कम मत ल्याउनु अनि मेयरमा भन्दा उपमेयरमा एमालेले बढि भोट पाउनुले पनि चुनावमा कतै न कतैका गुट विच साँठगाँठ भएको प्रष्ट चित्र प्रस्तुत गर्दछ ।

यो निर्वाचनलाई केलाउने हो, भने जनता जनार्दन हुन माथि नेताले गठबन्धन गर्दैमा सबै जनताले त्यो स्वीकार्दैनन् भन्ने चित्रण पनि गरिसकेको छ । त्यतिमात्र नभएर बलियो गुटले चाहेमा साम, दाम, दण्ड भेद सबै गरेर आफ्नो प्रभुत्व कायम गर्न आफुले चाहेको व्यक्तिलाई जिताउन र आफुले नचाहेको व्यक्तिलाई हराउन पनि सक्छ भन्ने चित्रण पनि इटहरी स्थानीय निर्वाचनले स्पष्ट गरिदिएको छ । त्यो हेर्नलाई मेयरमा निर्वाचित भएका गठबन्धन तर्फमा उम्मेद्वार हेमकर्ण पौडेलले सबै वडामा पाएको मत र उपमेयर निर्वाचिन नेकपा एमालेकी उम्मेद्वार संगीता कुमारी चौधरीले पाएको मतलाई दाज्ने हो भने टाढा जानै पर्दैन् ।

एमालेले जितेको वडा नम्बर १७ मा एमालेका वडा अध्यक्षले २ हजार २८२ मत पाउँदा एमालेकै मेयर पदका उम्मेद्वारले भने १ हजार ९६६ मत मात्रै पाएका छन् । सोही वडामा गठबन्धनका उपमेयर पदका उम्मेद्वारले ७८९ मत पाउँदा एमालेकी उपमेयर उम्मेद्वारले भने २ हजार ३०२ मत पाएकी छन् । यहाँ गठबन्धन गरेको भनिएका पार्टीका मतदाताले समेत उपमेयरमा सुर्यलाई मत दिएका छन् भने कांग्रेसको मेयरलाई मत दिएका धेरै मतदाताले वडा अध्यक्षमा कांग्रेसलाई मत दिएका छैनन् । वडामा कांग्रेसका मेयर पदका उम्मेद्वारले २ हजार १५३ मत पाउँदा वडा अध्यक्ष पदका उम्मेद्वारले १ हजार ८८१ मत मात्रै पाएका छन् ।

एमालेले जितेको इटहरी २ मा हेर्ने हो भने पनि त्यस्तै संकेत स्पष्ट देखिन्छ । ३ हजार २२७ मतदाताले एमालेका वडा अध्यक्ष पदका उम्मेद्वारलाई मत हाल्दा एमालेकै मेयर पदका उम्मेद्वारले भने २ हजार ६९० मत मात्रै पाएका छन् भने कांग्रेसका मेयर पदका उम्मेद्वारले ३ हजार ४४८ मत प्राप्त गरेका छन् भने कांग्रेसकै वडा अध्यक्ष उम्मेद्वारले भने २ हजार ८०३ मतमा चित्त बुझाउनु परेको छ ।

अव एउटा नेपाली कांग्रेसले जित हासिल गरेको वडा हेरौँ । इटहरी ६ मा कांग्रेसका वडा अध्यक्ष पदका उम्मेद्वारलाई १ हजार १ मत दिएका मतदाताले सोही पार्टीको मेयर पदका उम्मेद्वारलाई भने १ हजार ५११ मत दिएका छन् भने १ हजार ६४ मत गठबन्धनका उपमेयर पदका उम्मेद्वारले पाएका छन् ।उता नेकपा एमालेको मेयर पदका उम्मेद्वारलाई ९९७ मत मात्रै दिएका मतदाताले उपमेयर पदका उम्मेद्वारलाई भने १ हजार १४ मत दिएका छन् ।

बलियो राजनितिक दल भनेर चिनिएको नेपाली कांग्रेस अघिल्लो निर्वाचनमा १२ वडामा नेतृत्व सहित मेयर उपमेयरमा पनि राम्रो मत ल्याएर पराजित थियो तर यसपाला गठबन्धन नामका नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादीसँग मिल्दा पनि आफ्नो विरासतका ८ वटा वडामा हार व्यहोरेको छ भने मेयर सहित जम्मा ५ वडामा मात्रै कांग्रेसले जित हासिल गरेको छ । बहुसंख्यक वडामा वडा अध्यक्ष जितेको एमालेले मेयरमा भने किन हार व्यहोरेको हो त ? यो गम्भिर प्रश्नमा एमालेको नेतृत्वले समिक्षा गर्नै पर्छ ।

एमाले पार्टीका केन्द्रिय सदस्य लक्ष्मी गौतम, तैयब हुसेन, राष्ट्रिय सभासदस्य इन्दु गौतम , प्रदेश सांसद सर्वध्वज साँवा, प्रदेश सांसद निलम बस्नेत, जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी र अर्का प्रखर नेता रामप्रसाद चौलागाईको पकड भएको बाम इलाका इटहरीमा एमालेनै १६ वटा बडाको बागडोर सम्हाल्दा पनि नगरप्रमुखमा याम कुमार सुव्वाको हार हुनुलाई पार्टी भित्रनै निकै ठुलो गुट आफ्नै पार्टीलाई हराउन बेस्सरी लागेको स्पष्ट चित्रण गरिसकेको छ ।

एमालेभित्र निर्वाचनको प्रचार प्रसार अघि चरण असन्तुष्टि थियो भन्ने कुरा निवर्तमान नगरप्रमुख द्धारिकलाल चौधरीले बेला बेलामा समाजिक सञ्जाल मार्फत छताछुल्ल पार्नुले पुष्टि नै गरिदिएको छ । निर्वाचन अघि मेयर पदको आकांक्षी रहेका चौधरीले मेयरमा सिफारिस नहुने संकते पाएपछि पार्टीका जिल्ल्ला अध्यक्षलाई ‘वकिल भण्डारी मेरो हात काट तिम्रा लागि मेरो खुट्टै काफी छन्’ भन्दै त कहिले पार्टीका अन्य नेतालाई प्रहार गरिरहेको चौधरी कुनै बेला आफुलाई केपी ओलीले पनि केही गर्न नसक्ने भन्दै ठोकुवा गर्दै आइरहेको थिए ।

चुनावी मत गणनाको कार्य हुँदै गर्दा नगरमा एमालेले हार्ने पक्का पक्की भएपछि चौधरीले पार्टीभित्र व्यापक असन्तुष्टि रहेको प्रष्ट सन्देश दिँदै कहिले याम कुमार सुव्वाको नाममा नगरपालिकामा ‘लिम्बुको बोर्ड भुण्डाउन जति सजिलो छ चुनाव जित्न त्यत्ति सजिलो छैन’ भन्दै प्रहार गर्न भ्याए भने कहिले ‘यारेलको छटपटी’ भन्दै याम सुब्बा, रेवतीरमण भण्डारी र लक्ष्मि गौतमलाई प्रहार गरे । यहिबाट के प्रष्ट हुन्छ भने आफ्नो पार्टीको मेयर पदका उम्मेद्वार याम कुमार सुव्वालाई हराउन चौधरी आफैँ मज्जाले लागेको पक्कापक्की नै हो ।

उनले उपमेयरमा आफुले चाहेको समुदायकै उम्मेदवारलाई जिताएरै छाडे भने आफुले नचाहेको व्यक्तिलाई मेयरमा हराई छाडे । अव पनि यस्ता पार्टी भित्रनै आफ्नै नेतालाई हराउन मुख्य भुमिका खेल्नेहरुलाई कारवाही गर्न सकेन भने एमालेमा चौधरीलाई मान्नै पर्छ उनि जे चाहान्छन् गरेर देखाइदिन्छन् । उनलाई अब एमालेले साँच्चै नै कार्वाहीको डण्डा चलाउछ त ? कि उसलाई चलायो भने लगत्तै आउने प्रदेश र संघीय संसदको निर्वाचनमा भोट बिग्रन्छ भन्न ठानेर नेतृत्व तह चुप बस्छ ? त्यो भने हेर्न बाँकी नै छ ।