इटहरीः गठबन्धनमा मिसिएर चुनावी प्रतिस्पर्धामा रहेका माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले इटहरी उपमहानगरमा एक सिट पनि जित्न सकेनन् ।

आफ्नो पक्षमा जनसमर्थन रहेको भन्दै धेरै वडामा आफ्नो भागवण्डा दावी गरेको माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको हातमा अन्तिम परिणाम अनुसार शुन्य सिट हात परेको हो ।

पहिला मेयरमा आफ्नो दावी गरिरहेको नेकपा एसले उपमेयरको भाग पाएता पनि जित निकाल्न सकेन । आफ्नो हारलाई गठबन्धन भएका कारण धेरै मत बदर हुँदा आफ्नो सदर मत कम भएको उनिहरुको भनाई छ । नेकपा एसमा उपमेयर पदका उम्मेदवार केशवकुमार बिष्टले १८ हजार ३१ मत प्राप्त गरेका छन् । गठबन्धनका दलको सहयोग र आफ्नो पनि राम्रो जनमत रहेका कारण उपमेयरमा राम्रै मत ल्याए पनि नेकपा एकीकृत समाजवादीको नगरमा प्रतिनिधित्व भने शुन्य बनेको छ ।

यता वडामा एकीकृत समाजवादीको भागमा परेको वडा नम्बर १४ मा एमालेबाट टिकट नपाएपछि हाँस चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेको छन् । नेकपा एकीकृत समाजवादीले जम्मा ३०७ मतमा चित्त बुझाएको छ । वडामा मित्रवत प्रतिस्पर्धा गर्ने र मेयर उपमेयरमा गठबन्धनलाई सघाउने निर्णय गरेको जनता समाजवादी पार्टीले मेयरमा २८० र उपमेयरमा ३५१ मत पाएको छ । गठबन्धनमा सामेल हुने निर्णय गर्दा गर्दै पनि यतिको संख्यामा मत पाउनु जसपाभित्रको पनि कमजोरी भएको विश्लेषण गरिएको छ ।

उता नेकपा माओवादी केन्द्रले भाग पाएको १० नम्बर वडा अध्यक्षमा ९३७ मत पाएको छ भने त्यहाँ पनि एमालेले १ हजार २०९ मत ल्याएर विजय हासिल गरेको छ । कांग्रेसको वडा अध्यक्षमा मात्र ३० मत आएको छ । उता वडा अध्यक्षको भाग पाएको माओवादी केन्द्रले वडा नम्बर १८ मा ७१६ मतमा चित्त बुझाएको छ भने वडा सदस्यमा ६८५ मत पाएको छ । वडा नम्बर १९ को दलित महिला सदस्यमा दावी गरेको माओवादी केन्द्रले ८४७ मत पाउँदा झण्डै हजार मतले एमालेकी उम्मेदवारले जित हासिल गरेकी छन् ।वडा नम्बर २० को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले जम्मा ७ मत पाएको छ ।

वडा नम्बर १ को खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रको नाममा ६०३ मत खसेको छ । त्यहाँ पनि पार्टीले हार व्यहोरेको छ । माओवादी केन्द्रले अधिकांश वडामा सदस्य तथा महिला सदस्य र केही वडामा दलित महिला सदस्यको भाग पाएको थियो । गठबन्धन गरेर अगाडि बढेका वडाहरुमा गठबन्धनको सहयोगले नेपाली कांग्रेसले मेयरसहित ४ वटा वडामा जित हासिल गरेको छ भने सहयोगी भूमिकामा देखिएका गठबन्धनमा आबद्ध दलहरु सहयोगीमै सिमित भएका छन् ।