बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ को मतपरिमाण आउने क्रम अन्तिम चरणमा छ । सार्वजनिक नतिजाअनुसार मुलुकका ७५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै जितेर नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो बनेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा २ महानगर, ७ उपमहानगरसहित सबैभन्दा धेरै स्थानीयतह जितेको एमालेले यो पटक महानगरमात्रै होइन उपमहानगर पनि गुमाउनु परेको छ । १४ जिल्ला रहेको प्रदेश एकका अधिकांश पालिकाहरुमा सत्ता गठबन्धनको जीत भएको देखिन्छ ।

निर्वाचनको आसपासका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ एमाले पराजित भएको छ । खासगरी सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपश्चात् प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको एमालेका अध्यक्ष ओलीले यस् निर्वाचनपछी आफ्नो दललाई जनताले पहिलो बनाउने भाषण गर्दै देशदौडमा थिए । तर हकिकत ठ्याक्कै उल्टो बनिदियो ।

एकैदिनमा चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गर्दै अन्य दलका नेताहरुलाई सकेसम्म गाली गर्न भ्याए । उनको उपस्थितिमा ठूलै भीड जम्मा हुन्थ्यो । उखान र चुटकिलासहितको भाषणकला भएका ओलीको भाषण हेर्न चाहने सर्वसाधारणको बाक्लै भिडले समेत ओलीलाई साथ दिएन । अरु त अरु प्रदेश एकमा एमालेको पक्कड भएको स्थानहरुमा समेत एमालेको हार भयो । ओली आएर भाषण गरेपछि र चुनावी आमसभामा भएको सहभागीतालाई हेरेर एमालेका उम्मेदवार मात्र नभई कार्यकर्ताहरु पनि जित्नेमा ढुक्क भए । कतिले समाजिक सञ्जालमै स्टाटस पोष्ट गरेर एमाले त आयो आयो भनेर लेख्नसम्म भ्याए । तर परिणाम त्यसको ठिक उल्टो आयो ।  

279708441_5107096299372187_8868033694581775355_n

वैशाख २७ गते एमाले अध्यक्ष ओलीले आफ्नै गृहजिल्ला भद्रपुरमा पुगेर सम्बोधन गरेका थिए । त्यहाँ पनि एमालले पराजय भोग्यो । वैशाख २७ गते नै एमाले अध्यक्ष झापाको दमकमा पुगेर सम्बोधन गरेका थिए । त्यहाँ सबै पार्टी मिलेर एमालेलाई हराइदिए । त्यहाँ राप्रपाका राम थापाले जीत हासिल गरे । विराटनगरमा आएर सम्बोधन गरेका ओलीले एमालेका सागर थापाले जित्ने दावी पनि गरे । तर त्यहाँ कांग्रेसका नागेश कोईराला विजयी भए । उपमेयरमा भने एमालेकी शिल्पा कार्की विजयी भईन् ।

इलामको फिक्कलमा राजमार्ग नै ढाकेर ओली र सुवास नेम्वाङले यसपटकको चुनावमा नेकपा एस पत्तासाफ हुने दावी नै गरे । तर नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको क्षेत्र रहेको फिक्कलको सुर्योदय नगरपालिकामा नेकपा एसका उम्मेदवार रणबहादुर राई मेयरमा विजयी भए ।

अघिल्लो चुनावमा प्रमुख र उपप्रमुखसहित सहज जीत निकालेको धरान उपमहानगरमा समेत यसपटक एमाले तेस्रो दल बन्यो । स्वतन्त्र उम्मेद्बारी दिएका हर्कराज साम्पाङले कांग्रेसका किशोर राईलाई पराजित गरेपछि एमाले तेस्रो बनेको हो । धरानमा आएर सम्बोधन गर्दै ओलीले धरानमा यसपालि फेरि एमालेले शानदार जित निकाल्ने बताएका थिए । २०७४ मा एमालेले कब्जा गरेको इटहरीमा काँग्रेसका हेमकर्ण पौडेलले बाजी मारिसका छन् । सुनसरी सदरमुकाम इनरुवा पनि ओली आएर भाषण ठोके । त्यहाँ एमालेका मेयर पदका उम्मेदवार सरोज पोख्रेल कांग्रेसका मेयर पदका उम्मेदवार केदार भण्डारीसंग पराजित भए । 

ओली किन चर्को भाषण गर्छन् ?

तत्कालीन बखत केपी ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी गर्यो । भारतसँग सहज रूपमा वार्ता गर्दै देशप्रतिको प्रेम अडान ओलीले छोडेनन् । विभिन्न स्थानहरुमा गएर भारतको नाकाबन्दी विरुद्ध चर्को भाषण गर्दै देशभक्ती जनाए ।

फलस्वरूप नेपाली जनताले ०७४ को स्थानीयतह चुनावमा नेकपा एमालेलाई पहिलो दल बनाए । केपी ओलीले व्यक्तिगत रूपमा थुप्रै समर्थकहरु बटुले । ओलीले हावाबाट बिजुली निकाल्ने, पुर्वपश्चिम रेल संचालन गर्ने, नेपालको आफ्नै पानीजहाज हुने, घरघरमा ग्यासको पाइप पुर्याउने लगयातका आश्वासन दिए । जसलाई केहि हदसम्म जनताले पत्याए, पनि । तर जब दुईतिहाईको सरकारका प्रमुख बनेका ओली कार्यालयमा विभिन्न भ्रष्टाचार, अनियमितता प्रकरणहरु बाहिरिएपछी जनमानसमा ओलीप्रतिको क्रेज घट्दै गयो । तर पनि उनले राष्ट्रबादी भाषण गर्न छोडेका छैनन् । जनतालाई आश्वासन बाढ्न छोडेका छैनन् । विश्लेषकहरुका अनुसार चर्को भाषण गरेर जनताले मत दिने कुरामा केपी ओलीको गहिरो विश्वास रहेकोले उनी भाषण गरिरहन्छन् ।

279731159_5107096392705511_3708144830213609633_n

तर अहिलेको परिस्थिति बेग्लै छ । बोलेका कुरा पूरा गर्न नसकेको, बहुमतको सरकार टिकाउन नसकेको, आफ्नो कार्यकालमा भ्रष्टाचारले देश लिप्त बनाएको, हावादारी गफ गरेको आरोपसहित जनताले यतिबेला एमालेलाई मन पराएनन् । खासगरी पूर्वप्रधानमन्त्री समेत भएको व्यक्तिले अन्य दल र नेताहरूलाई प्रयोग गर्ने शब्दहरु ‘लुतो, पिलो, बिर्को, थुक्क, देशको कुलंगार, ऐझेरु’ जस्ता शब्दहरूले पनि मतदातामा इरिटेड थपिएको बुझिन्छ ।