विराटचोकः बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा नेकपा एमालेले विजयी भएको छ ।

एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केदारप्रसाद गुरागाईले ७२५ मतान्तरले गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद ढकाललाई पराजित गरेका हुन् ।

उनै ढकालले २०७४ को निर्वाचनमा यिनै गुरागाईलाई ९६८ मतान्तरले हराएका थिए । यस पटक भने गुरागाईलाई जनताले जिताएर दोस्रो प्रयासमा मेयर बनाइदिएका छन् ।

को हुन् मेयर गुरागाई ?

बुवा श्रीप्रसाद र आमा सीता गुरागाईको कोखबाट वि.संं २०२४ सालमा खोटाङको साबिक डाँडागाउँमा गुरागाईंको जन्म भएको हो । गुरागाईँले पञ्चायती शासनविरुद्ध आवाज उठाउँदै आएका थिए । शोषित, पीडित, अन्याय र अत्याचारमा परेका जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीमा आबद्ध भएका उनले स्कुले जीवनदेखि नै विद्यार्थीको हकहितको आवाज उठाउँदै आएका थिए ।

२०३६ सालमा अनेरास्ववियुमा आबद्ध भएका उनी तत्कालीन नेकपा माले हुँदै हालको एमालेको राजनीतिमा सक्रिय भएका व्यक्ति हुन् । उनले विद्यार्थीकालदेखि नै जुझारु कार्यकर्ताको पहिचान बनाएका थिए । वि। सं। २०३९ सालमा माविमा स्ववियु सभापति बनेका उनले साबिक इन्द्रपुर गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वार चन्द्रबहादुर गुरुङलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

महेन्द्र मोरङ क्याम्पसमा पढ्दा राष्ट्रिय पञ्चायतको निर्वाचनमा मजदुर नेता जनपक्षीय उम्मेद्वार बमबहादुर खड्कालाई विजयी बनाउन पनि महत्वपूर्ण भूूमिका निर्वाह गरेका थिए । शाही शासन कालमा आन्दोलनका क्रममा पक्राउ परी १९ दिन जेल जीवन बिताएका उनी पार्टीको गाउँ कमिटी हुँदै हाल नेकपा एमालेको १ नम्बर प्रदेश कमिटी सदस्य भएका छन् ।साबिक इन्द्रपुर गाविस हुँदादेखि नै संघ सस्थाहरुको स्थापनामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सुन्दरहरैंचाका १ दर्जन भन्दा बढी संघसंस्थाहरुमा रहेर काम गरेका उनी सुकुना बहुमुखी क्याम्पसको सञ्चालक समितिका संस्थापक सचिव पनि हुन् । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष उनी सुन्दरहरैंचाका प्रख्यात सहकारीको सञ्चालक समिति अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाको मेयर पदमा झिनो मतान्तरले पराजय भोगेका गुरागाईँले यस पटक हारको बदला लिएरै छाडेका छन् । यसपटक पनि निवर्तमान नगरप्रमुख परिचित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालसँग मुख्य प्रतिष्पर्धामा रहेका थिए । जनताको मतले अहिले विजयी भएर गुरागाई नगरको प्रमुख पदको कुर्सीमा बस्न सफल भएका छन् ।

नगरपालिकामा गुरागाईको आगामी यात्रा सहज हुने भएको छ । नेकपा एमालेको एक्लै बहुमत सदस्य चुनिएसँगै काम गर्न सहज हुने आँकलन हुन थालेको छ । निर्वाचित भएपछि गुरागाईले सम्पूर्ण नागरिकको पक्षमा रहेर मेयर साहेव भन्दा पनि जनताको सेवक भएर काम गर्ने बताएका छन् ।