इनरुवाः सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधित्व गर्दै आएको सुनसरीको संसदीय क्षेत्र नम्बर ४ अन्तरगत रहेका चार वटा पालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । यो नतिजासंगै सो निर्वाचन क्षेत्रमा एमाले पत्तासाफ भएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तरगत रहेका बराहक्षेत्र नगरपालिकाका अतिरिक्त कोशी, भोक्राहा नरसिहं र हरिनगर गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा विजय हासिल गरेको हो । यो निर्वाचन क्षेत्र अन्तरगतका पालिकाको प्रमुखमा मात्र होइन, बहुमत उपप्रमुख तथा जनप्रतिनिधिहरुमा काँग्रेस लगायत सत्तारुढ गठबन्धनका दलका उम्मेदवारहरु विजयी भएका छन् । नेपाली काँग्रेसले विजय हासिल गरेको हरिनगर गाउँपालिका र कोशी गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत विजयी भएका अध्यक्ष र उपाध्यक्षहरु दोहोरिएका छन् ।

कोशी गाउँपालिकाको अध्यक्षमा एयुव अन्सारी र उपाध्यक्षमा अनिता देवी यादव दोस्रो कार्यकालका लागि काँग्रेसबाट पुन निर्वाचित भएका छन् । त्यसै गरी हरिनगर गाउँपालिकामा पनि गफार मिया अन्सारी र रिमझिम कुमारी भगतलाई दोस्रो कार्यकालका लागि जनताले नेपाली काँग्रेसबाट क्रमश अध्यक्ष र उपाध्यक्षमा निर्वाचित गरेका छन् ।

क्षेत्र नम्बर ४ कै भोक्राहा नगरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका अजमल अख्तर आजाद अध्यक्ष तथा सुनिता देवी उराँव उपाध्यक्षमा निर्वाचित भएकी छन् । त्यसै गरी बराहक्षेत्र नगरपालिकामा निर्वतमान नगरप्रमुख रहनुभएका नेकपा एमालेका उम्मेदवार निलम खनाललाई पराजित गर्दै रमेश कार्की नगर प्रमुखमा निर्वाचित भएका छन् ।

हरिनगर गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारीले काँग्रेसले हरिनगरमात्र नभइ पुरै सुनसरी क्षेत्र नम्बर ४ नै क्लिन स्वीप गरेको भन्दै खुसी व्यक्त गरे । उनले आफूले हिजोका दिनमा पनि जनतालाइ प्राथमिकतामा राखेर काम गरेको बताउदै आगामी दिनमा पनि स्थानीय बासिन्दाकै आवश्यकतालाइ प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँगेसका बराहक्षेत्र नगरपालिकाका प्रचारप्रसार तथा परिचालन समितिका संयोजक रेबती दुलालले पार्टी यस पटक संगठन सुदिृढीकरणका साथै स्थानीय स्तरमा विकास निर्माण तथा जनचाहना अनुरुपका कामलाइ प्राथकिमता दिएको कारण विगतदेखि पराजित हुदै आएको बराहक्षेत्र नगरपालिकामा प्रमुखसहित बहुमत जनप्रतिनिधिहरु निर्वाचित गर्न सफल भएको बताए ।

उनले अहिले क्षेत्र नम्बर ४ मा रहेको स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुले स्थानीय सरकारका अतिरिक्त प्रदेश र संघीय सरकारसंग समन्बय गरेर जनचाहना र स्थानीय स्तरमा आवश्यक विकासका कामलाई प्राथकिमता दिने विश्वाससमेत व्यक्त गरे ।