इटहरीः धराने युवाहरुले सेभ घोपा क्याम्प आन्दोलन शुरु गरेको आज मंगलबाट ५० औँ दिन पुगेको छ । शुरुका दिनमा सेभ घोपा क्याम्प आन्दोलनको हस्ती बनेर हिडेका हर्क साम्पाङ्ग सेभ घोपाको ५० औँ दिन पुनः मेयरको पदभार ग्रहण गरेपछि पुगे ।
सयौँको संख्यामा भेला भएका युवाहरुको प्लेकार्ड र नारालाई मेयर साम्पाङ्गले प्रशंसा मात्रै गरेनन् आफु पनि आन्दोलनको एक हिस्सा भएको समेत बताए ।चुनावी अभियान अघि सम्म आन्दोलनको हिस्सा बनेर दिनहुँ जसो वीपी प्रतिष्ठान पुग्ने साम्पाङ्ग मंगलबार भने विजय उत्सव मनाउँदै त्यहाँ पुगेका थिए ।
‘धरानको सबैभन्दा ठुलो सम्पत्ती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बचाउ गर्नका लागि म चुनाव अघिसम्म आन्दोलनमै थिएँ । तपाईहरुले नै मलाई जिम्मेवारी दिएर धरानको नगरप्रमुख बनाइदिनु भएको छ । ’ साम्पाङ्गले सेभ घोपा क्याम्पसको आन्दोलनमा माइक पक्रेरै भाषण गरे ।
पानी झरी नभनी घोपा क्याम्प बचान लागी रहेका यवाहरुलाई धन्यवाद दिँदै मेयर साम्पाङ्गले झरी पानीमा पनि हृदय विदारक दृष्य देख्दा आफँै भावुक बनेको समेत सुनाए ।
‘म आफैँ आन्दोलनकारी भएकाले मेरो तपाईहरुको आन्दोलनमा समर्थन छ । यसरी बसको आन्दोलन जुन छ त्यसमा सम्बन्धित व्यक्तिले सम्बोधन गर्नुपर्छ भन्ने दवाव धरान उपमहानगरपालिकाको पनि रहन्छ । ’ मेयर साम्पाङ्गले यति भनिरहँदा तालिका परर्रा छुटे ।
मेयर साम्पाङ्गले भने ‘तपाईहरुले नाजायज माग लिएर आएको जस्तो हामीलाई लाग्दैन् । वीपी अस्पताललाई नै सुधार्नुपर्छ भन्ने तपाईहरुको नारा हो ।’तपाईहरुको मागप्रति मेरो समर्थन छ । हिजो आन्दोलनकारीको तर्फबाट सहयोग थियो अव धरानको स्थानीय सरकारको तर्फबाट मेरो साथ र समर्थन रहनेछ । ’ मेयर साम्पाङ्गले भनेका छन् ।
‘हामी संगै थियौँ र संगै रहनेछौँ । हामी पनि एक्काइसौँ शताव्दीको उन्नत मुलुक मध्येको एउटा मुलुक बन्नेछौँ । गाँस, बाँस कपास सहितको सपना मैले देखेको छु । खानकै लागि विदेशीको ट्वाइलेट सफा गर्न जानु पर्दैन भन्ने तर्फ हामी अगाडि बढ्नेछौँ ।’ साम्पाङ्गले भने ।