इटहरीः प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प्रदेशभरी रहेका बिभिन्न मान्यताप्राप्त खेल खेलेका खेलाडीहरुको विवरण संकलन अभियान सुरु गरेको छ ।

बोर्डले अघिल्लो हप्ताबाटै प्रदेश एकका १४ वटै जिल्लामा रहेका ओलम्पिक, साफ गेम र एशियन गेममा सहभागी भएका खेलाडीहरुलाई रेड कार्ड बनाउने तथा सम्मान गर्ने प्रयोजनका लागि खेलाडीको विवरण संकलन गरेको बताएको छ ।

प्रदेश भरीका खेलाडीले आफुहरुले खेलेको खेल, त्यसको मिति र जितेको अवार्डको विवरण सहित आफ्नो तश्विर संलग्न गरेर प्रदेश खेलकुद विकास बोर्डको कार्यलय विराटनगरमा आइपुग्ने गरी पठाउन प्रदेश खेलकुद विकास बोर्डले अनुरोध गरेको छ ।

अन्तराष्ट्रिय स्तरमा खेल खेलेर देशलाई चिनाउने खेलाडीलाई सम्मान गर्नुपर्ने र उनिहरुलाई प्रदेश खेलकुद विकास बोर्डले रेड कार्ड समेत बनाएर प्रदेश भरीका खेल स्टेडियममा निशुल्क खेल हेर्ने व्यवस्था गर्ने र सुपरमार्केकट, हवाई यातायातमा समेत निश्चित छुटमा यात्रा गर्न सकिने वातावरण मिलाउने गरी आफु लागेको प्रदेश एकको खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज बाग्लेले बताएका छन् ।

बोर्डले चाँडै नै प्रदेश भरीका कोचहरुलाई तालिम प्रदान गर्ने, प्रदेश स्तरिय फुटवल प्रतियोगिता सन्चालन गर्ने र तेक्वान्दो प्रतियोगिता समेत सन्चालन गर्ने योजना बनाएको बताइएको छ ।