झापाः झापाको मेचीनगर–६ भन्सार कार्यालय गेटबाट प्रहरीले लागूऔषध टिडिजेसिकसहित बुधबार २ जना युवालाई पक्राउ गरेको छ ।

लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारागन २५ एम्पुल र लुपिजेसिक २५ एम्पुलसहित उनीहरू पक्राउ परेका हुन् । दमक –४ बस्ने सुमन धिमाल र विजय श्रेष्ठ पक्राउ परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सो कार्यालयबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागि चेक गर्ने क्रममा पाइण्टको गोजीमा लुकाइराखेको लागूऔषध फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद लागूऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।