धरानः विश्व वातावरण दिवसको अवसर पारेर सुनसरीको धरानमा साइकल ¥यालीको आयोजना गरिएको छ ।

धरान उपमहानगरको वातावरण शाखाद्वारा आयोजित ¥यालीमा मेयर हर्कराज साम्पाङ्ग र उपमेयर अइन्द्रविक्रम बेघा लगायतको उपस्थिति रहेको थियो ।

धरानका साइक्लिष्टहरुसँगै मेयर, उपमेयर सहितको टोली पनि साइकलमा सवार रहेको थियो । भानुचौकबाट सुरु भएको साइकल ¥याली भोटेपुल, धनकुटे रोड हुँदै बुद्ध चोकबाट सुन्दरबजार पुगेर रत्नचौक, न्युरोड कल्याण चौक, दुर्गा चोक हुँदै भानुचौकमै आएर सम्पन्न भएको थियो ।

यसैगरी वातावरण दिवसकै मौकामा विभिन्न संघसँस्थाहरुको सहभागितामा भानुचोकदेखि तीनकुनेसम्म कोशी राजमार्ग सडक किनार सरसफाइ कार्यक्रम पनि भएको थियो ।

साइकल ¥याली सुरु हुनुपूर्व मेयर साम्पाङ्गले धरानलाई सफा शहर बनाउनमा लागिपर्न धरानवासीलाई आग्रह गरे । ‘विगत धेरै लामो समयदेखि लागेको खराब बानीलाई सुधार्नुपर्ने आवश्यकता छ ।’ मेयर साम्पाङ्गले भने । उनले डस्टबिन छेउमै हुँदा पनि त्यसको सदुपयोग नगरी फोहोर बाहिर फाल्ने बानीलाई सुधार गर्न आवश्यक रहेको बताउँदै सबैलाई डस्टबिन प्रयोग गर्न आग्रह गरेका थिए । धरानलाई ‘क्लिनेस्ट सिटि’ बनाउने आफ्नो सपना रहेको बताउँदै मेयर साम्पाङले त्यसलाई साकार बनाउन सबै धराने जनताको सहयोगको खाँचो रहेको समेत बताए ।

batawaran-diwas2

जथाभावी फोहोर नफालौ भनेर अहिले चेतनाको लागि भनिरहे पनि नटेर्ने अवस्था आए जरिवाना लगाउनेमा धरान उपमहानगरले योजना ल्याउने मेयर साम्पाङ्गले बताए ।
‘हामी अहिले चेतनाको लागि भनिरहेका छौँ, पछि जरिवाना पनि लगाउनुपर्छ होला । धरानलाई सफा राख्ने अभियानमा सबैले साथ दिनुहुन्छ भन्ने आशा छ । ’ मेयर साम्पाङ भन्छन् ।

वडागत रुपमा जुन वडा सबैभन्दा सफा छ त्यसलाई पुरस्कारको व्यवस्था गर्ने योजनासमेत उपमहानगरपालिकाको रहेको मेयर साम्पाङले सुनाएका थिए । ‘जुन वडा बढी सफा छ, त्यो वडालाई पुरस्कृत गर्ने योजना पनि हामी ल्याउँछौँ ।’ मेयर साम्पाङले सुनाए ।