धरानः धरान उपमहानगरको पहिलो कार्यपालिका बैठकमा सोमबार मेयर हर्क साम्पाङ्गले छलफल नगरी खोला उत्खनन् नगर्ने निर्णय गरियो भन्दै सुनाएपछि कार्यपालिका वैठकमा भाँडभैलो भएको छ ।

बैठकमा विषय प्रवेश गराउनुको सट्टा मेयर साम्पाङ्गले खोला उत्खनन् नगर्ने निर्णय गरियो भन्दै निर्णय सुनाएपछि यसमा उपस्थितको राय के छ भनि प्रश्न गरेका थिए ।
खोला उत्खनन् नगर्ने नगरप्रमुखको प्रस्ताव उपर उपस्थित कार्यपालिका सदस्यहरुले विरोध जनाएका थिए । उनिहरुले धरान उपमहानगरको आर्थिक स्रोत भएकाले त्यस विषयमा सोच्न नगरप्रमुखलाई आग्रह गरेका थिए ।

मेयर हर्क साम्पाङ्गको प्रस्तावमा अधिकांश वडा अध्यक्षहरुले खोला उत्खनन् नगर्दा बर्षामा बाढी आएर बस्तीमा पस्न सक्ने सम्भावना रहेको बताएका थिए ।

मेयर साम्पाङ्गले प्रकृती दोहन गर्न नहुने भन्दै विगतमा खोला जथाभावी उत्खनन् हुँदा धेरै क्षति पुगेकोले यसपाली उत्खनन् नगर्ने निर्णय गर्न आग्रह गरेका थिए । तर, अधिकांश वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले भने आयस्रोत गुम्ने साथै खोलालाई बीचमा च्यानलिङ नगर्दा बर्षामा बाढी आएर बस्ती जोखिममा पर्ने भन्दै आइइई रिपोर्ट अनुसार ठेक्का लगाउनुपर्ने बताएका थिए ।

मेयर साम्पाङ्गले भने कुनै पनि हालतमा उत्खनन् नगराउँ एक दुई करोड राजश्व बढाउन मात्रै नदि उत्खनन् नगरौँ भन्दै मेयर साम्पाङ्गले दिगो विकास तर्फ जाउँ भन्ने प्रस्ताव राखेका थिए ।

मेयर साम्पाङ्गले खोला ठेक्का नलगाउने भन्ने कुरा बारम्बार दोहोर्याएपछि वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यले खोला ठेक्का लगाउने वा नलगाउने भन्ने विषयमा तार्किक निष्कर्ष निकाल्ने गरी अध्ययन गर्न र पुनः छलफल गर्न आग्रह गरेका थिए ।

अन्तमा यो एजेण्डामा उपमेयर अइन्द्रबिक्रम बेघाले मेयरको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने र उक्त कार्यदलले दिएको प्रतिवेदन अनुसार निर्णय गर्ने सुनाएपछि यो एजेण्डाको विवाद समाधान भएको थियो । कार्यदलमा सदस्य सचिवकोरुपमा वातावरण महाशाखा प्रमुख रहने र सदस्यहरुमा खोला भएको सम्बन्धित वडाका अध्यक्षहरुलाई पनि राख्ने भनिएको छ ।