धरानः धराने जनताहरुलाई स्वच्छ खानेपानी खुवाउने धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाको सपना अनुरुप शनिवार सो क्षेत्रमा बृहत्त वृक्षारोपण गरिएको छ । सर्दु जलाधार क्षेत्रको संरक्षणका लागि सो क्षेत्रमा वृहत्त वृक्षारोपण गरिएको हो ।

मेयर हर्क साम्पाङ , उपमेयर अइन्द्रविक्रम बेघा, धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायत धरानकाबासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधि सहितको टोलीले सर्दु जालाधार क्षेत्रको संरक्षणका लागि विभिन्न जातका विरुवा रोपेका हुन् । यसअघि धराने जनतालाई मेयर साम्पाङले सर्दु जलाधार क्षेत्रमा पानीको स्रोत बढाउन वृक्षारोपणका लागि आह्वान गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा धराने जनता, रोटरी क्लब, धरान जेसिजलगायतका विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । सो कार्यक्रममा मेयर साम्पाङले आफ्नो स्व.बुबाको नाममा वृक्षारोपण गरेका छन् ।

8-3

वृक्षा रोपणपछि बोल्दै मेयर साम्पाङले जलाधार क्षेत्रलाई विशेष संरक्षण गरिने बताएका छन् । उनले जलाधार क्षेत्रको सीमाङ्कन गर्न चुनौती रहेको र सीमाङ्कन गर्न तत्काल आवश्यक कार्य अगाडि बढाउने बताए । जलाधार क्षेत्रलाई असर गर्ने खालका सबै खालका गतिविधिहरु पूर्ण रोक लगाइने उनले बताए । उनले भने‘जलाधारलाई बचाउन यसमा पूर्णरुपमा रोक लगाउनुपर्छ, यसबारेमा छलफल भइरहेको छ ।’

विरुवा रोप्दा दिवङ्गत हुनुभएका परिवारलाई सम्झिएर रोप्ने अभियान चलाइने उनको भनाई थियो । उनले भने ‘हामीले हाम्रा परिवार गुमाएका छौं, उहाँहरुलाई सम्झिएर वृक्षारोपण गरौं, त्यो फलदायी हुन्छ ।’

उनले पानीको स्रोत बढाउन विरुवा रोप्ने कार्यक्रम फलदायी हुने बताए । उनले अब रोप्नेमात्रै होइन संरक्षण गर्नतिर उपमहानगरपालिकाको ध्यान जाने बताए । विरुवा हुर्किएको, नहुर्किएको अवलोकनका लागि हेर्न आफू पनि आइरहने उनले बताए ।

उपमेयर अइन्द्रविक्रम बेघाले विरुवा रोपिसकेपछि संरक्षण हुनुपर्ने खालका कार्यक्रम ल्याइने बताए । बेघाले भने ‘रोपिसकेपछि संरक्षण गर्ने खालका कार्यक्रम ल्याउन उपमहानगरपालिका लाग्छ ।’
सामुदायिक वन महासंघ, विष्णुपादुका पाँचकन्याका अध्यक्ष सम्फर तामाङले विरुवा रोपिसकेपछि संरक्षणको दायित्व उपमहानगरपालिकाले नै लिए फलदायी हुने बताए ।

24-1