विराटनगर/ साढे ३३ केजी सुन र मोरङका उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा समातिनेको संख्या ७४ जना पुगेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दामा जिल्ला अदालत मोरङमा बुधबार थप ७ जनाविरुद्ध अभियोग दायर गरेको छ भने जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनाविरुद्ध त्यही प्रकरणमा म्याद थप गरी अनुसन्धान थालेको छ ।

जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले प्रतिवादीहरू मोरङ उर्लाबारीका रेवन्तकुमार आचार्य, झापा दमकका विनोद अधिकारी, दोलखा चरिकोटका मोतीराम श्रेष्ठ, काठमाडौंका मदन सिलवाल, लच्छबहादुर गुरुङ, रामकुमार तिवारी र मोरङ उर्लाबारीकै सन्दीप खड्काविरुद्ध अभियोग दायर गरिएको जानकारी दिएका छन् ।

प्रतिवादीमध्ये रेवन्तकुमार आचार्य सनम शाक्य हत्याका लागि प्रयोग भएको ब्याट्री र करेन्ट कन्भर्टर चुडामणि उप्रेती गोरेलाई दिने व्यक्ति हुन् । विनोद अधिकारी, मोतीराज श्रेष्ठ र सन्दीप खड्का मनि ट्रान्सफर तथा ट्राभल्समार्फत् रकम कारोबारीलाई पठाउने र दुबईमा दिराम संकलन गर्ने कामका सहयोगी हुन् । मदन सिलवाल र रामकुमार तिवारीले गोरेले अह्राएको रकम सुनका कारोबारी तथा संलग्न व्यक्तिहरूलाई दिने गरेका थिए । लक्छबहादुर गुरुङ भने सुनका कारोबारी भुजुङ गुरुङका सवारी चालक थिए ।

यसैगरी, गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले अनुसन्धान शुरु गरेको छ । विभिन्न अनुसन्धानको क्रमपछि प्रहरीद्वारा नियन्त्रणमा परेका ५ जना सुनका कारोबारीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद थप गरेको छ ।

मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता निशान थापाका अनुसार सुनको कारोबारमा संलग्न देखिएको आरोपमा पक्राउ परेका डब्बु भन्ने इम्तियाज उद्दिन, विमल पोद्दार, राजकुमार दारुका, अकबर साह र प्रभात अग्रवालविरुद्ध संगठित अपराधमा संलग्न रहेको आरोपमा अदालतबाट बुधबार नै म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको हो ।

उनीहरूलाई काठमाडौंलगायत देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिई मंगलबार साँझ विराटनगर ल्याइएको थियो । पाँचैजना विरुद्ध म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको थापाले जानकारी दिएका छन् ।

यस अगाडि यही प्रकरणमा ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो । तीमध्ये ३१ जना पुर्पक्षका लागि थुनामा छन् भने १ जना १५ हजार धरौटी र १ जना सादा तारेखमा छुटिसकेका छन् ।

पहिलो चरणमा अदालतमा अभियोग दायर गरिएका ६३ जनामध्ये २८ जना अझै फरार छन् । त्यसबाहेक ७ जनाविरुद्ध पूरक अभियोग दायर गरिएको छ । तीमध्ये पनि सन्दीप खड्का भन्ने व्यक्तिलाई अदालतमा उपस्थित गराइएको छैन । ५ जना सुनका लगानीकर्ता विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।