धरानः धरान उपमहानगरलाई पानी प्रदान गरिरहेको सर्दु मुहान आँपगाछी क्षेत्रमा शनिवार पनि वृहत सरसफाई गरिएको छ ।

धरान उपमहानगरपालिकाको नगर प्रहरी र प्रोजेक्ट नेचर धरानले संयुक्तरुपमा सरसफाई कार्यक्रमको आयोजना गरेको हो । शनिवारै मेयर हर्क साम्पाङ्ग लगायतको टोलीले सर्दु जलाधार क्षेत्रमा वृहत्त वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो ।

उता खानेपानीको मुहान क्षेत्र आँपगाछी क्षेत्रमा बृहत्त सरसफाइ गरी २५ बोरा फोहोर संकलन गरिएको छ । धरान उपमहानगरको नगर प्रहरी र प्रोजेक्ट नेचरका भोलेन्टियरहरुको सहभागीतामा गरिएको सरसफाई कार्यक्रम प्रभावकारी भएको छ ।

धरान भेडेटार सडक खण्डमा पर्ने आँपगाछी क्षेत्र सँधैजसो सार्वजनिक सवारी रोक्ने र दिसा पिसाव गर्ने थलोको रुपमा विकसित भएकोमा अहिले भने नगरपालिकाले प्राथमिकतामा राखि सो क्षेत्रमा नगरप्रहरी र नेपाल प्रहरीसमेत परिचालन गरेको छ ।

सडक किनारामा जङ्गल हुनुले यात्रुहरूलाई शौच गर्न गराउन सवारी साधनले सवारी रोक्दै आएका थिए । तर पछिल्लो समय त्यहाँ शौच गर्न र फोहोर फाल्न, गाडी रोक्न निषेध गरिएसँगै आँपगाछी क्षेत्र पनि सफा हुँदै गएको छ ।

उपमहानगरले नगर प्रहरीको लागि नगर प्रहरी विट नै स्थापना गरेर खानेपानीको मुहानको सुरक्षा गर्दै आइरहेको छ । सो क्षेत्रमा दिसा पिसाब गर्न नपाइने जनाउ दिने बोर्ड पनि शनिवार नगर प्रहरीले राखेको छ । सो क्षेत्रमा फोहोर गरेको र खानेपानी क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्न निषेध गरिएसँगै खानेपानीको मुहान क्षेत्र पनि निक्कै सफा भएको छ ।