काठमाडौँः लिथुएनियाले रुसी भूभाग कलिनिनग्राडमा रेलद्वारा निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएपछि मस्कोले उक्त कदमको गम्भीर परिणाम हुने चेतावनी दिएको छ।

वरिष्ठ रुसी सुरक्षा अधिकारी निकोलाइ पाट्रुसेफले रुसले ’निश्चय पनि यस्तो शत्रुतापूर्ण कदमप्रति प्रतिक्रिया जनाउने’ बताएका छन्।

लिथुएनियाले आफूले युक्रेनमाथिको रुसी आक्रमण पश्चात् युरोपेली सङ्घले लगाएको प्रतिबन्धको पालना मात्रै गरिरहेको जनाएको छ।

रुसी जलसेनाको बाल्टिक फ्लिटको मुख्यालय कलिनिनग्राडको रणनीतिक क्षेत्रमा अवस्थित छ र रुसको मूल भूमिसँग उसको सिधा सिमाना छैन।

उक्त पश्चिमी भूभाग सन् १९४५ को दोस्रो विश्वयुद्धपछि जर्मनीबाट गाभिएको थियो। उक्त क्षेत्रसँग ईयू र नेटो सदस्य लिथुएनिया र पोलेण्डको सीमा छ। उक्त क्षेत्र मुख्यरुपमा रेल पारवहनका लागि लिथुएनियामा निर्भर रहेको छ।

रुसी सुरक्षा परिषद्का सचिवले ’निकट भविष्यमा’ उपयुक्त कदम चालिने बताएका छन्। “यसको परिणाम लिथुएनियाको जनसङ्ख्या लागि गम्भीर रूपमा नराम्रो हुन्छ,“ विस्तृत नखुलाईकन उनले भने।

यसअघि मङ्गलवार रुसी विदेश मन्त्रालयले उक्त कदमविरुद्ध युरोपेली सङ्घका राजदूतलाई बोलाएर प्रश्न गरेको थियो।

अघिल्लो हप्ता लिथुएनियाका अधिकारीहरूले उनीहरूले ईयूको प्रतिबन्धमा रहेका बस्तुहरू आफ्नो देशको भूभाग हुँदै कलिनिनग्राडसम्म लैजान रोक्न लगाउने बताएका थिए।

लिथुएनियाका विदेशमन्त्री ग्याब्रिएलयुस लेन्ड्सबेर्गीसले आफ्नो देशले केही नगरेको र युरोपेली प्रतिबन्धहरूले जुन १७ बाट काम गर्न थालेको बताएका छन्।

उनले युरोपेली आयोगसँग छलफल गरेर उक्त निकायकै नियम अनुसार उक्त कदम चालिएको बताए। ईयूले प्रतिबन्ध लगाएका सामग्रीमा कोइला, धातु, निर्माणसँग सम्बन्धित सामाग्री र अत्याधुनिक प्रविधि पर्छ।

रुसको कलिनिनग्राड क्षेत्रका गभर्नर एन्थोन एलिखानोभले कालिनिनग्राडले आयात गर्ने करिब ५० प्रतिशत बस्तु प्रतिबन्धमा पर्ने बताए।

नेटो सैनिक गठबन्धनको सदस्य भएकाले संयुक्त रक्षा सन्धिहरूले लिथुएनियाको सुरक्षा गरेको छ।

बीबीसीका रुस सम्पादक स्टिभ रोजनबर्ग भन्छन् रुसी अधिकारी कलिनिनग्राड लैजान कतिपय सामाग्रीमा पारवहन सुविधा नदिएकोमा लिथुएनिया र ईयूदेखि आक्रोशित छन् र उनीहरूले यसलाई नाकाबन्दी भनिरहेका छन्।

उनका अनुसार मस्कोको विदेश मन्त्रालयले आफ्नो राष्ट्रिय स्वार्थ सुरक्षा गर्न कदम चाल्नु आफ्नो हक भएको बताएको भएपनि अहिले कुन र कस्तो कदम चालिने त्यो प्रस्ट छैन।

मङ्गलवार राष्ट्रपति पुटिनका एक जना नजिकका साझेदार निकोलाइ पाट्रुसेफ कलिनिनग्राडको भ्रमण गरेर ’रुसको उत्तर पश्चिमको राष्ट्रिय सुरक्षाबारे’ छलफल गरेका छन्।

’राष्ट्रिय सुरक्षा’ को कुरा गर्दा कलिनिनग्राडको अवस्थिति रणनीतिक छ। मस्कोले परमाणु क्षमता भएका बलिस्टिक क्षेप्यास्त्रहरू विगतमा उक्त क्षेत्रमा तैनाथ गरेको थियो। -बीबीसीबाट