इटहरीः गत असोज १० गते मोरङको विराटनगर महानगरपालिका ७ स्थित १ नम्बर प्रदेश उच्च अदालत विराटनगर इजलासअगाडि कमलसिंह लामा नाम गरेका एक व्यक्तिमाथि खुकुरी प्रहार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ घर भएका ४६ वर्षीय रमेश राजवाहक रहेको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । उनका अनुसार खुकुरी प्रहार गरी फरार रहेका अभियुक्त राजवाहकलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय मोरङले गरेको पत्राचारका आधारमा उनको खोजीकार्य अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले आज मात्र उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेलगत्तै अभियुक्तलाई मोरङ प्रहरीको जिम्मा लगाइएको एसपी थापाको भनाइ छ ।