इटहरीः खोटाङको जन्तेढुङ्गा गाउँपालिका ५, चिसापानी घर भई सुनसरीको इटहरी उपमहानगरपालिका १६, बालग्राम चौक बस्दै आएकी ७७ वर्षीया हजुरआमा तुलसा खड्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका नातिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतकका नाति हरि खड्का रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुसार अभियुक्त हरिले हजुरआमा तुलसालाई गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा मतदानका लागि वैशाख २६ गते खोटाङतर्फ जाने बेलामा बाटैमा हत्या गरेका थिए । हत्या गरी फरार रहेका हरिलाई भारतको पश्चिम बङ्गाल राज्यस्थित सिलगुढीबाट प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । मृतक तुलसाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका ५, पौवासेरास्थित सुनकोसी नदीको किनारमा फेला परेको थियो ।

बेवारिसे अवस्थामा फेला परेको शव बुझ्न कोही पनि नपुगेपछि प्रहरीले उदयपुरको बेल्टारमा पोस्टमार्टम गरी जेठ २ गते दाहसँस्कार गरिदिएकोमा जेठ १८ गते मृतकले लगाएको साडी, चोलो लगायतका माध्यमबाट उनकी भतिजी लक्ष्मी खड्काले आफ्नी ठूलीआमाको पहिचान गरेकी थिइन् । अभियुक्त हरि भने शवको सनाखत गरिनुअगावै जेठ १० गतेदेखि फरार थिए । आफ्नी ठूलीआमाको हत्या भएपछि विगत एक वर्षदेखि आफ्नो संरक्षणमा राख्दै आएकी भतिजी लक्ष्मीले नै मृतकका नातिविरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि हरिको खोजीमा लागेको प्रहरीले अन्ततः उनलाई हिजो पक्राउ गरेको हो ।