इटहरीः आफैँले प्रयोग गर्दै आएको सरकारी गाडी तोडफोड गरिदिने आफ्ना छोरालाई मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षले कारबाहीबाट उन्मुक्ति दिएको पाइएको छ ।

गाउँपालिकाको बजेट निर्माणजस्ता कार्य सम्पादन गर्नका लागि बनाइएका विभिन्न समितिहरुमा पालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुले नेकपा एमालेका जनप्रतिनिधिहरुलाई समेत सहभागी गराएपछि त्यसो गर्नु गलत भएको भन्दै उनकै छोरा ज्योति गञ्छदार थारुले मङ्गलबार साँझ अध्यक्ष गच्छदारले प्रयोग गरिरहेको प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरिदिएका थिए ।

नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा निर्वाचित आफ्ना पालिका अध्यक्ष अर्थात् आफ्ना बाबुले नेकपा एमालेका जनप्रतिनिधिलाई सरकारी संयन्त्रमा सहभागी गराउन नहुने तोडफोडमा संलग्न ज्योतिको जिकिर थियो । छोराले गाडी तोडफोड गरिदिएपछि उनीउपर कारबाहीको प्रकृया अगाडि बढाइएको बताएका अध्यक्ष थारुले त्यसो नगरी सर्वदलीय बैठकबाट गाडीको मर्मत खर्च भराई अन्य कुनै कारबाही नगराउने सहमति गरी छोरालाई फौजदारी कारबाही हुनबाट जोगाएका हुन् ।

‘एक पटकलाई गल्ती भइहाल्यो । अब दोहोर्याएमा कारबाही अघि बढाउने सहमति बैठकमा भएको छ,’ अध्यक्ष जयप्रकाशले भने, ‘गाडी मर्मत गर्दा लाग्ने खर्च बेहोर्ने सर्तमा सहमति भएको हो ।

गाउँपालिका स्थानीय सरकार नै भएकाले यति निर्णय लिन सक्ने अधिकार छ ।’ यता, नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गुणवतिदेवी धामी थारुले भने आफ्ना छोरालाई कारबाहीबाट बचाउन अध्यक्ष थारुले आफूहरुलाई सहमतिमा आउन बाध्य पारेको बताइन् ।