फिक्कलः गएराति परेको चट्याङले इलामको रोङ गाउँपालिका ५ को वडा कार्यलको विद्युतीय उपकरण तथा वडा नम्बर ६ को ग्रामिण सडकमा क्षति पुर्याएको छ ।

चट्याङका कारण वडा नम्बर ५ को वडा कार्यलय र अस्थाइ कोभिड अस्पतालको भवनमा रहेको बेरिङ, मिटर, कम्प्युटर, फ्रिज लगायतका सबै सामग्रीमा क्षति पुर्याएपछि वडाबाट प्रदान गरिने सबै सेवा ठप्प भएको वडा नं ५ का वडाध्यक्ष दलबहादुर पूलामीले बताए । क्षतिको विवरण प्राविधिक निरीक्षणपछि मात्र यकिन हुने उनको भनाइ छ ।

यसैबीच, सोही दिन भएको अविरल वर्षाले रोङ ६को ग्रामिण सडकमा पनि क्षति पुर्याएको पाइएको छ । वर्षाले रम्भ्याङ्गको स्कुलडाँडा वरबोटे, वरडाँडा, आलेढुङ्गा सिमधारा वरडाँडा सडकको विभिन्न स्थानमा क्षति पुर्यापछि चिया, दुध तथा तरकारी बेचेर गुजारा चलाउने स्थानीय किसानको दैनिकी प्रभावित भएको छ ।

पालिकाले वडा नम्बर ६ मा भएको क्षतिको विवरण संकलन गर्ने जिम्मेवारी वडासदस्य जीवन राईसहितको टोलीलाई दिएको छ । क्षतिको विवरण संकलन गरी सोहीअनुरुप मर्मतसम्भारको प्रकृया थालिने वडासदस्य राईले बताए ।

यता डेढ महिनाअघि नै ढुङ्गा झरेर अवरुद्ध रहेको जौवारी जिर्मले सडक अझै खुल्न सकेको छैन । उक्त सडकको लामा गाउँनजिकै झरेको ढुङ्गा हटाउन उपकरण अभाव हुँदा सडक सञ्चालनमा आउन नसकेको हो ।