इटहरीः छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा झापाको सुरुङ्गाबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाइ नगरपालिकाका ३७ वर्षीय एक पुरुष रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) रुगम कुँवरका अनुसार बालिकाले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । पीडित बालिकाको सामाजिक प्रतिष्ठामा क्षति पुग्नसक्ने भन्दै प्रहरीले अभियुक्तको पहिचानसमेत गोप्य राखेको छ । अभियुक्तउपर आफ्नी १२ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ ।

आफ्नी आमाले बाबुले दिएको मानसिक तनाव सहन नसकी अर्को विवाह गरेकोमा बालिका भने बाबु र उनकी कान्छी श्रीमतीसँग बस्दै आएकी थिइन् । पीडित बालिकाले साथीहरुको सहयोगमा प्रहरीमा जाहेरी दर्ता गराएपछि अभियुक्तलाई प्रहरीले गत शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरेकाो छ । ‘बालिकाले दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरेका ल्याएका हौं,’ उनले भने, ‘बालिकाले जाहेरी दिएकै दिन पक्राउ गरेका हौँ । तीन वर्षसम्म डर–त्रासको कारण खुल्न नसकेको बालिकाले बयान दिएकी छन् । अहिले हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेका छौं ।’