इटहरीः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा बस पल्टँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खस्दा नाम र ठेगाना नखुलेकी एक अन्दाजी ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा परी अन्य ११ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको डीएसपी काफ्लेले बताए । दुर्घटनालगत्तै बसका चालक फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।