विराटनगरः सन् २०१८ को ११ महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको इन्सेकले जनाएको छ ।

इन्सेकको प्रदेश नं १ कार्यालय विराटनगरले आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ ।

इन्सेकका अनुसार हत्या हुनेहरूमा २० जना महिला, २ जना बालिका, १ जना बालक, ५ जना नवजात शिशु र २६ जना पुरुष रहेका छन् । ३ जना पुरुषको भने गोली प्रहारबाट हत्या भएको बताइएको छ । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ जनासहित जम्मा ७ सय ५० जना पीडित भएकोमा सबैभन्दा बढी बलात्कारबाट २ सय २० र बलात्कार प्रयासबाट ९९ जना पीडित भएको बताइएको छ ।

यसैगरी, घरेलु हिंसामा १ सय ४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट ३, मानव बेचबिखनबाट १२, अपहरणबाट १०, जातीय विभेदबाट ४ जना पीडित भएका थिए । गाली बेइज्जतीबाट ७, हत्या प्रयासबाट ९, गिरफ्तारीबाट ३७, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट छ, अप्राकृतिक मैथुनबाट २ जना पीडित भएको बताइएको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताका आधारभूत अधिकार सुरक्षित गर्न लागिपर्ने बताए । प्रदेशसभा सदस्य यशोदा अधिकारीले हत्या, हिंसा, बलात्कार, घरेलु हिंसाजस्ता घटना न्यूनीकरण गर्न आवश्यक पर्ने कानुन बनाएर कार्यान्वयन पक्ष बलियो बनाउन आवश्यक भएको बताइन् ।