धनकुटाः धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोला किनारमा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर शनिबार दिउँसो दुई बालकको मृत्यु भएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा पोखरीमा डुबेर घाइते भएका दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरबाट स्वर्णिम र उदयसँगै गएका धनकुटा नगरपालिका ५ का सन्देश राई भने सकुशल रहेका छन् ।

घरबाट बिहान ६ बजे निस्केर हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि सन्देशले नजिकै बस्तीमा गएर मान्छे बोलाएर ल्याई डुबिरहेका दुवैलाई निकालेर अस्पताल पठाएका थिए ।