जर्मनी: युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले धनी राष्ट्रहरूको समूह जी–७ समूहको शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दैछन् । सम्बोधनमा उनले रुस विरुद्धको युद्ध जित्न थप प्रभावशाली हतियारहरू उपलब्ध गराउन आग्रह गर्ने बताइएको छ ।

यो सातामा कीभ र अन्य क्षेत्रहरूमा रूसी मिसाइल आक्रमणहरूको बमबारी भएको थियो । जसमा कम्तिमा एकजनाको मृत्यु भएको छ । पूर्वी युक्रेनमा रुसले सेभेरोडोनेत्स्कलाई पूर्ण नियन्त्रणमा लिएको छ भने नजिकैको लिसिचान्स्कलाई निशाना बनाएको छ ।

आइतबार जेलेन्स्कीले हतियार दिन ढिलाइ गर्नु भनेको रूसलाई बारम्बार हमला गर्न निम्तो दिनु रहेको टिप्पणी गरेका थिए । आफ्नो दैनिक भिडियोमार्फत बोल्दै उनले हवाई प्रतिरक्षा प्रणाली र रुसमाथि नयाँ प्रतिबन्ध लगाउन पनि आग्रह गरेका थिए । “साझेदारहरू छिटो अघि बढ्न आवश्यक छ । यदी उनीहरु साँच्चै नै साझेदारहरू हुुन्, पर्यवेक्षकहरू होइनन् भने,” उनले थपे ।

जी–७ का राष्ट्रहरूले कीभलाई थप सैन्य सहयोग र मस्कोमा थप प्रतिबन्धहरूको वाचा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

पश्चिमी राष्ट्रका नेताहरूले एकता प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसी मिसाइल हमलाहरूले ‘एकसाथ उभिनु र युक्रेनीहरूलाई समर्थन गर्नु सही’ देखाएको अभिव्यक्ति दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो र जी–७ टुक्रिने विश्वास गरेको बताउँदै भने, “तर, हामीले त्यसो गरेका छैनौं र गर्ने पनि छैनौँ ।”

तर, शिखर सम्मेलनमा रहेका बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेलले हालैका हप्ताहरूमा युद्धमा पश्चिमी एकता खस्किएको बताएका छन् । केही नेताहरूले रुससँग दीर्घकालीन सम्बन्धबारे छलफल गरिरहेको बुझिएको छ । अरूले युक्रेनलाई बलियो तथा दिगो समर्थनमा जोड दिएका छन् । -बीबीसीबाट