इटहरीः श्रम कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार इटहरीका मेनपावर कम्पनीमा छापा मारेपछि व्यवसायीहरु आक्रान्त भएका छन् ।

२ वर्षदेखि सरकारले मेनपावर कम्पनीहरुलाई शाखा खोल्न नदिने निर्णय गरेको भन्दै व्यवसायीहरुले विभागले शाखा खोल्न नदिएको र पुरानो लाइसेन्स नवीकरण नगरिदिएको गुनासो गरेका छन् भने दर्ता भएर विधिवत रुपमा चलेका मेनपावर कम्पनीहरुले भने अवैधानिक भनिएका कम्पनीहरु कतिपय दर्ताको प्रक्रियामा रहेको बताएका छन् । संयुक्त वैदेशिक रोजगार व्यवसायी सुनसरीको तदर्थ समितिले सोमबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी दर्ताबिना सञ्चालन भइरहेका मेनपावर कम्पनीहरुलाई मर्ज भएर काम गर्ने प्रस्ताव गरेको हो । सरकारले २ वर्षअघि मेनपावर कम्पनीहरुलाई शाखा खोल्न नपाउने भनेदेखि उपत्यकामा केन्द्रीय कार्यालय रहेका मेनपावर कम्पनीहरुका उपत्यकाबाहिर रहेका शाखा कार्यलयहरु अवैधानिक ठहरिएका हुन् ।

IMG_2439

सोमबारको कार्यक्रमलाई सम्बोधन गर्दै वैदेशिक रोजगार व्यवसायी संघ सुनसरीका पूर्वअध्यक्ष भक्त लामाले चोरी शैलीमा सरकारको निकायले व्यवसायीलाई छापा मारेर आतंकित बनाएको बताए । एकातर्फ ढोका थुनेर शाखा कार्यलय खोल्न नदिने निर्णय गर्ने अनि अर्कोतर्फ व्यवसायीलाई अवैधानिक रहेको भन्दै दुःख दिएको उनको भनाइ थियो । ‘ सरकार शाखा खोल्न दिने निर्णय खारेज गरेर चुप लागेर बसेको छ, यता व्यवसायीहरु अलपत्र भएर बस्नु परेको छ ।’ लामाले अघि भने । अवैधानिक रहेका संस्थाहरुलाई संयुक्त वैदेशिक रोजगार व्यवसायी संघले वैधानिक बनाउनतर्फ सहयोग गर्न र मर्यादित बनाएर जान लामाले आग्रह गरेका छन् । इटहरी उपमहानगरको वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका लामाले समयसमयमा परिवर्तन हुने सरकारका नियमका कारण व्यवसायीहरुले दःुख पाउने गरेको बताउँदै अवैधानिक मेनपावर कम्पनीले अहिले चोर र ढाँटको उपनाम पाइरहेको बेला संघले दिएको सल्लाह मानेर प्रक्रियातर्फ लाग्न सुझाव दिएका थिए ।

IMG_2442

कार्यक्रममा बोल्दै संयुक्त वैदेशिक रोजगार व्यवसायी संघ सुनसरीको तदर्थ समितिका संयोजक दुर्गा थापाले कतिपय मेनपावर कम्पनीहरु शाखा कार्यालयको अनुमति नपाएको भए दर्ता भएका कम्पनीसँग मर्ज भएर काम गर्न प्रस्ताव गरेका थिए । दर्ता प्रक्रियामा रहेका मेनपावर कम्पनीहरुले कानूनी परामर्श गरेर अगाडि बढ्न तथा अन्य कम्पनीहरुले १५ दिनभित्र मर्जरको प्रक्रियाबाट अन्य कम्पनीसँग मिलेर काम गर्न थापाको प्रस्ताव थियो । पुराना शाखा कार्यालयलाई प्रक्रियागत रुपमा दर्ता प्रक्रियामा लगेर व्यवसाय गर्न र दर्ता पूरा नहुञ्जेलको समयमा कार्यालय सञ्चालन नगर्न थापाले व्यवसायीलाई आग्रह गरेका थिए ।

संयुक्त वैदेशिक रोजगार व्यवसायी संघ सुनसरीको तदर्थ समितिका सचिव गणेश ओलीले वैदेशिक रोजगार व्यवसायीको पेसा विगतका दिनदेखि ठगी गर्ने पेसाको रुपमा मात्र चिनिँदै आएको बताए । अवैधानिक रुपमा सञ्चालन भइरहेका मेनपावर कम्पनीमा छापा मारिएको र नियन्त्रणमा लिएकोमा खुसी भएको बताउँदै उनले कतिपय मेनपावर व्यवसायीहरु दर्ताको प्रक्रियामा समेत नरहेकाले उनीहरु प्रक्रियामा जानुपर्नेसमेत बताए । गाउँगाउँमा एजेन्टहरु पुगेका कारण वैदेशिक रोजगारीका नाममा अहिले गाउँगाउँबाट ठगी हुने काम भइरहेको पनि उनले बताएका थिए ।
सोमबारको कार्यक्रम वैदेशिक रोजगार व्यवसायी घनश्याम पाठकले सञ्चालन गरेका थिए ।

IMG_2449

इटहरीमा १ सयको हाराहारीमा मेनपावर कम्पनीहरु रहेपनि १६ वटा मात्र वैधानिक रुपमा सञ्चालन भइरहेको र बाँकी शाखा सञ्चालनको अनुमति नपाएका मेनपावर कम्पनीहरु रहेको बताइएको छ ।
मन्त्रिपरिषद्ले निश्चित मापदण्डमा शाखा सञ्चालनको अनुमति दिएको भएपनि वैदेशिक रोजगार विभागले शाखा सञ्चालन अनुमति नदिँदा मेनपावर कम्पनीहरु अवैधानिक घोषित भएको बताइएको छ ।

अवैधानिक भनिएका मेनपावर कम्पनीले समयसमयमा प्रहरी प्रशासनमा मोटो रकम बुझाई व्यवसाय सञ्चालन गर्ने गरेको एक विश्वस्त स्रोतले बताएको छ । कोरोना महामारीपछिको लकडाउनयता मात्र इटहरीका वैदेशिक रोजगार व्यवसायीले ३ पटकसम्म प्रहरीलाई मोटो रकम बुझाएको स्रोतको दाबी छ ।

IMG_2447

 

अहिले पनि पैसा बुझाउने मेनपावरलाई भने छापा मार्नुपूर्व सुचना चुहावट गराएका कारण कतिपय मेनपावरहरु छापा मार्ने सूचना पाएपछि ताला लगाएर हिँडेको पाइएको छ भने कतिपयमा सञ्चालक नभई कर्मचारी मात्र कार्यालयमा रहेका थिए ।