धरानः स्वास्थ्य बीमाबापत पाउनुपर्ने रकम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नपाएको जनाउँदै असार २० गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतको स्वास्थ्य सेवा बन्द गर्ने भएको छ । प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै सो जानकारी गराएका हुन् ।

स्वास्थ्य बीमा बोर्डबाट हुनुपर्ने भुक्तानी नियमित हुन नसक्दा आफू आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको प्रतिष्ठानले उल्लेख गरेको छ । साथै बोर्डले प्रतिष्ठानले गरेका दाबीहरुलाई एकतर्फी रुपमा विविध शर्तहरु तेस्र्याएर कम भ्यालुएसन गर्ने, रिजेक्ट गर्ने लगायत गतिविधि गर्न थालेको समेत उल्लेख गरेको छ ।

bp-no-1187x1536

आम्दानीको ७० प्रतिशत हिस्सा स्वास्थ्य बीमाबापतको रकम भएको उल्लेख गर्दै प्रतिष्ठानले मुख्य हिस्सा भएको आम्दानी नपाउँदा समस्या भएको जनाएको छ । जसका कारण प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको नियमित तलबभत्ता लगायत दैनिक प्रशासनिक खर्च सञ्चालनमा समेत प्रतिकुल प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ ।

आफूले पाउनुपर्ने बाँकी सबै रकम भुक्तान गरी अहिले उठाइएको समस्या समाधान नभएसम्मका लागि बीमाअन्तर्गतका आकस्मिक, बहिरङ्ग र अन्तरङ्ग सेवा बन्द गर्ने प्रतिष्ठानले जनाएको छ ।