अकावाः जोर्डनको लालसागरको वन्दरगाहमा सोमवार विषाक्त ग्यास चुहावट हुँदा दशजनाले ज्यान जानुका साथै अन्य २५ जना घाइते भएका छन् । जनसुरक्षा निर्देशनालय (पीएसडी)ले पारवहनका क्रममा रसायनिक पदार्थ भण्डार गरिएको कन्टेनर एउटा क्रेनको गल्तीका कारण अचानक खस्दा यो स्थिति उत्पन्न भएको संचार माध्यमलाई बताएको छ ।

भिडियो फुटेजमा क्रेनले एउटा लोरीबाट कन्टेनर उठाउने क्रममा त्यो वन्दरगाहमा रोकेर राखेको जहाजमा खसेको देखिन्छ । त्यसको लगत्तै जहाज रवन्दरगाह उज्यालो पहेँलो ग्यासको मुस्लोले छोपेको र अत्तालिएका मानिसहरूको भागाभाग भएको पनि देखिन्छ ।

पीएसडीका अनुसार नागरिक रक्षा विभागले वन्दरगाहको सफाई तथा सुरक्षाका लागि विशेषज्ञहरूका टोलिहरू परिचालन गरेका छन् । कन्टेनरभित्र कस्तो प्रकारको विषाक्त रसायनिक पदार्थ रहेको थियो भन्ने थाहा हुन सकेको छैन ।

सो विषाक्त ग्यासको संसर्गमा आएका झण्डै दुई सयजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । स्थानीय प्रशासनले अकावाका वासिन्दालाई स्वास्थ्यकर्मीहरूलाई सहज ढंगले काम गर्न दिन अस्पतालसामु भिडभाड नगर्न आह्वान गरेको छ । -बीबीसी