वर्लिन: विश्वका धनी राष्ट्रहरूको समूह जी–७ ले जर्मनीमा भइरहेको शिखर बैठकको दोस्रो दिन रुसी आक्रमण खेपिरहेको युक्रेनलाई आवश्यक परेसम्म सहयोग र समर्थन प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । विज्ञप्तिमार्फत जी–७ ले रुसले युक्रेनका वन्दरगाहहरू छाडेर खाद्यान्न अवरोध गर्न बन्द गर्नुपर्ने पनि जनाएको छ ।

भिडियो लिंकमार्फत उक्त बैठकलाई सम्वोधन गर्ने क्रममा युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले पश्चिम जगतसँग थप शक्तिशाली हातहतियार उपलब्ध गराइदिन आह्वान गरेका छन् । युक्रेनमा रुसी आक्रमण बढिरहेकाले जी–७ का नेताहरूमाथि आफ्नो उद्देश्यका लागि एकजुट हुन दबाब परिरहेको छ । सोमवार ती नेताहरूले विज्ञप्तिमा भनेका छन्, “निरन्तर आर्थिक, मानवीय, सैनिक र कूटनीतिक समर्थन प्रदान गर्दै हामी आवश्यक परुन्जेल युक्रेनसँग उभिने छौं । हामीले सदैव रुसद्वारा बेलारुसको सहयोगमा युक्रेनविरुद्ध जारी राखेको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानुनी आक्रामक युद्धको निन्दा गरिनैरहने छौं ।”

जर्मनीको बाभारियामा चलिरहेको क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, वेलायत र अमेरिकाका नेताहरूको बैठकमा युरोपेली संघका दुईजना प्रतिनिधिले पनि भाग लिइरहेका छन् । रुसी फौजले पुर्वी युक्रेनमा आक्रमण तिव्र पारिरहेको अवस्थामा जी– ७ को उच्चस्तरीय सहयोग जारी रहेको छ । युक्रेनको क्रेमेनचुक सहरको एक व्यस्त सपिङ सेन्टरमा क्षेप्यास्त्र खस्दा सोमवार दुईजना मानिसको ज्यान गएको छ । राष्ट्रपति जेलेन्स्कीले आफूले जी–७ का नेताहरूलाई सम्वोधन गरिरहँदाका तस्बिरहरु टेलिग्राम डायलिङमा सेयर गरेका छन् । -बीबीसी