इटहरीः झापाको दमक नगरपालिका ५ गोर्खाली टोलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ वर्षीय प्रकाश राई, २६ वर्षीय प्रवेश राई र ३० वर्षीय भानुभक्त सुन्दास रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ६ः०० बजे प्रकाश राईको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटी गई उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट डिजिटल तराजुसहित लागूऔषध ब्राउनसुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको छ । पक्राउ परेका तीनै जनाउपर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।