क्वालालम्पुर– मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोति श्रीससँग नेपाली पत्रकार टोलीले भेटवार्ता एवं अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेपाली श्रमिकहरुको अवस्थाबारे स्थलगत रिपोर्टिङमा मलेसिया पुगेको पत्रकार टोलीले कार्यवाहक राजदूत श्रीससँग नेपाली दुतावास क्वालालम्पुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा समसायिक विषयमा छलफल भएको थियो ।

छलफलमा कार्यवाहक राजदूत श्रीसले दुतावासका गतिविधि तथा कार्यविवरणका बारेमा जानकारी गराएका थिए ।

छलफलमा दुतावासमा कार्यरत सबै कर्मचारीको सहभागिता रहेको थियो ।

त्यसैगरी, छलफलमा मलेसियामा पछिल्लो समयमा नेपाली श्रमिकहरुले सामना गरिरहेका समस्याका बारेमा पनि छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कार्यवाहक राजदूत श्रीसले पछिल्लो सयममा मलेसियामा रहेका श्रमिकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए ।

कार्यक्रममा कार्यवाहक राजदूत श्रीसले कोरोनाकालपछि मात्र १७२८ डिमाण्डमार्फत् ७० हजार नेपाली कामदारको मागपत्र निस्केको बताए ।

कार्यक्रममा दुतावासका लेबर काउन्सिलर दीपक ढकाल, श्रम सहचारी प्रकाश पन्थी, द्वित्तीय सचिव प्रेमबहादुर थापा, यसु बस्नेत लगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा श्रमिकका समस्याबारे दीपक ढकालले जानकारी गराएका थिए भने मलेसियामा रहेका विभिन्न जेलमा रहेका नेपालीहरुको बारेमा यसु बस्नेतले जानकारी गराएकी थिइन ।

दूतावासको तथ्याङ्कअनुसार अहिले मलेसियामा दुई लाखभन्दा बढी श्रमिक कार्यरत रहेका छन् ।

मलेसियामा पछिल्लो समयमा भइरहेको श्रमिक समस्याको बारेमा स्थलगत रिपोर्टिंगका लागि जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नयाँ सडक दैनिकका सम्पादक ज्ञानप्रसाद पौडेल, साझा सवाल डटकमका प्रधान सम्पादक अनिल अधिकारी, ब्रेकएण्डलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायतको टोली त्यसतर्फ पुगेको हो ।