वासिङटनः गर्भपतनसम्बन्धी अमेरिकी सर्वोच्च अदालतको आदेशका कारण आपत्कालीन गर्भनिरोधक औषधिको माग बढेपछि अमेरिकाका केही ठूला औषधि खुद्रा विक्रेताले यस्ता औषधिको विक्री सीमित पारेका छन् ।

‘मर्निङ–आफ्टर पिल’ को नामले पनि चिनिने ‘प्लान बी’को खरिद कार्य वालमार्ट, एमेजोन र राइट एडमा सीमित पारिएका छन् । यसै साताको सुरुमा प्रमुख फार्मेसी चेन सीभीएसले गर्भनिरोधक खरिद कार्यमा आफ्नो अस्थायी रोकावट हटाएको थियो ।

गर्भ नियन्त्रण अमेरिकामा वैधानिक छ । तर, यस सम्बन्धी केही हिमायतीहरूले भविष्यमा गर्भपतनको पहुँचमा कडाइ हुनसक्ने चेतावनी दिने गरेका छन् ।

हालै सर्वोच्च अदालतले गर्भपतन गर्ने संवैधानिक अधिकार खारेज गरेपछि चिकित्सकीय अनुमति चाहिने आपत्कालीन गर्भनिरोधक र गर्भपतन चक्कीको माग ह्वात्तै बढेको हो ।

यौन सम्पर्क राखेको तीन दिनभित्र सेवन गरिए मर्निङ–आफ्टर पिल्स जस्तै ‘प्लान बी’ले गर्भाधारण रोक्ने संभावना ७५ देखि ८९ प्रतिशत रहेको छ ।

तर करिब १० देखि ५० डलर मूल्य पर्ने यो औषधिले ७५ किलोग्राम भन्दा बढी वजन हुने व्यक्तिहरूका लागि काम नगर्ने बताइएको छ । -बीबीसीबाट