इटहरीः सोमबार मध्यरातिदेखि देशभर भइरहेको मनसुनी वर्षाका कारण विभिन्न ठाउँका नदीनालाहरुमा पानीको बहाव बढिरहेको छ ।

आज पूर्वी नेपालका सप्तकोसी, चतरा, तमोर, त्रिवेणी, अरुण, दुधकोसी, तामाकोसी, सुनसकोसीजस्ता नदीहरुको बहावमा उतारचढाव भइरहने जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, पश्चिमतर्फ राप्ति, बबई, मर्स्याङ्दी, सेती, महाकाली, वाग्मती नदीको पधेरादोभान र पूर्वी राप्तिको रजैयामा बहाव सामान्य बढ्ने पूर्वानुमान छ । आज धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, धादिङ, चितवन, गोरखा, स्याङ्जा, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला र आसपास भई बहने साना नदीहरूमा बहाव बढ्नेछ । मनसुनी वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।